२९ जना कागजपत्रविहिन आप्रवासी बोकेको भ्यान टेक्सासमा दुर्घटना, १० जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार

२९ जना कागजपत्रविहिन आप्रवासी बोकेको भ्यान टेक्सासमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्गम दक्षिणी टेक्सासको हाइवेमा भएको दुर्घटनामा चालकसहित जनाको मृत्यु भएको छ भने गाडीमा चढेका २० जना घाइते भएका छन् ।

१५ जनामात्र यात्रु अट्नसक्ने गरी बनाइएको भ्यानमा क्षमताभन्दा बढी आप्रवासीहरु चढेका थिए । भ्यान अनियन्त्रित भई विजुलीको पोलमा गएर ठोक्किएको थियो । घाइते २० जना सबैको अवस्था गम्भिर रहेको जनाइएको छ भने कतिपयको अवस्था चिन्ताजनक रहेको छ ।

परिवारका सदस्यहरुलाई जानकारी नगराउँदासम्मका लागि भ्यानमा रहेका चालकसहित सबै ३० जनाको परिचय सार्वजनिक गरिएको छैन । भ्यान कहाँ दर्ता गरिएको थियो र भ्यानको मालिक को हुन् भन्नेबारे पनि विवरण सार्वजनिक गरिएको छैन ।

सांकेतिक तस्वीर

गैरकानूनी रुपमा मानवतस्करीका क्रममा यस्ता दुर्घटनाका घटनाहरुमा बढोत्तरी भएको छ । मानवस्करले कागजपत्रविहिन आप्रवासीहरुलाई ओसार पसार गर्नका लागि जवान चालकहरु राख्ने र उनीहरुले तीब्र गतिमा गाडी गुडाउनुका साथै हेलचेक्राई गर्ने गरेको पाइएको छ ।

क्यालिफोर्नियाको सान डिएगोभन्दा १२५ माइल पूर्व होल्टभिलमा २५ जना आप्रवासी बोकेको ट्रक गत मार्च १३ मा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।

त्यस्तै मार्च १७ मा टेक्सासको डेलरियोमा आप्रवासीको बोकेको ट्रक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । मे २४ मा चालकले गल्ती स्वीकार गरेपछि आजीवन कारावासको सजायको सामना गरिरहेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com