न्युयोर्क सिटीमा रेष्टुरेण्टभित्र खाना खान भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने


प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार

न्युयोर्क सिटीमा अब रेष्टुरेण्टभित्र खाना खान ग्राहकले भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमणदर बढेपछि न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले नयाँ नियमको घोषणा गरेका हुन् ।

रेष्टुरेष्टभित्र खाना खान, जिमहरु र प्रस्तुतीहरुमा भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्ने नियम लागु गर्नेमा अमेरिकामा न्युयोर्क सिटी पहिलो भएको छ । यस्तो नियम फ्रान्स र इटलीमा पनि घोषणा गरिएको छ । न्युयोर्क सिटीमा भने यो नियम मध्य सेप्टेम्बरबाट लागु हुने जनाइएको छ ।

न्युयोर्कका मेयर ब्लाजिओ भ्याक्सिनका सन्दर्भमा आक्रमक रुपमा अगाडि बढेका छन् । उनले न्युयोर्क सिटीका कामदारलाई या त भ्याक्सिन लगाउन या त साप्ताहिक रुपमा कोरोना परीक्षण गर्न नियम लागु गरेका छन् भने भ्याक्सिन लगाउने सर्वसाधारणलाई एकसय डलर दिने नियम लागु गरेका छन् ।

न्युयोर्क सिटीमा कुल बयस्क जनसंख्याको ६६ प्रतिशतले पूर्णरुपमा भ्याक्सिन लगाइसकेका छन् । तर कतिपय भागहरुमा भने भ्याक्सिन लगाउने दर अत्यन्तै कम रहेको जनाइएको छ । नयाँ कार्यक्रम अन्तरगत न्युयोर्क सिटीले न्युयोर्क पासका लागि चाबी नामको कार्यक्रम सुरुवात गर्दैछ ।

यसैबीच  सीडीसी निर्देशिका अनुरुप अब न्युयोर्क सिटीसहित न्युयोर्कका २३ वटा काउन्टीहरु भ्याक्सिन लगाएकाहरुले पनि मास्क लगाउनुपर्ने अन्तरगत परेका छन् । ६२ वटामध्ये २३ वटा काउन्टीले आइतबारसम्म कोरोना संक्रमणमा बढोत्तरीको उक्त थ्रेसहोल्ड पार गरेका हुन् ।

संक्रमणदरमा उक्त थ्रेसहोल्ड पार गरेका काउन्टीहरुमा सीडीसीले इन्डोर ठाउँहरुमा भ्याक्सिन लगाएकाहरुलाई पनि मास्क लगाउन सिफारिस गरेको हो ।

आइतबार न्युयोर्कको कोरोना संक्रमणदर साप्ताहिक औषतमा २ दशमलव ५ प्रतिशत पुगेको छ । जुन मध्य अप्रिल यताकै सबैभन्दा उच्च हो । कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमणदर उच्च बनेको छ ।

सीडीसीको निर्देशिका अनुशार साप्ताहिक संक्रमणदर हिसाब गर्दा हरेक एकलाख जनसंख्यामा औषतमा ५० जनामा संक्रमणदर देखिएको खण्डमा वा कोरोना संक्रमणदर परीक्षण गरिएकाहरुमध्ये ८ प्रतिशतभन्दा बढीमा देखिएमा त्यस क्षेत्रमा भ्याक्सिन लगाएकाहरुले पनि इन्डोर स्थानहरुमा मास्क लगाउन सिफारिस गरिएको छ । सुरुमा न्युयोर्क सिटी, लंग आइल्याण्ड, ग्रिनका काउन्टीले उक्त थ्रेसहोल्ड पार गरेका थिए ।

तर आइतरबासम्म अन्य काउन्टीहरुपनि उच्च जोखिम भएको क्षेत्रमा परेका छन् । अरेन्ज, पुटनाम, वेष्टचेस्टर, इरी, मुनरो, ओनोन्डागा लगायतका काउन्टीहरुपनि मास्क लगाउनुपर्नेमा परेका छन् । आइतबार रातीसम्म नासु, म्यानहटन, ब्रुकलिन र स्टेटन आइल्याण्डले उच्च जोखिमपूर्ण थ्रेसहोल्ड पार गरेका छन् । जुन हरेक १ लाख जनसंख्यामा कम्तीमा १ सयजनामा संक्रमण हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com