भेरोसेल लगाएका ५० काटेकाहरुमा भ्याक्सिनको प्रभावकारिता घट्दो, ८० सम्म पुग्दा आधामात्र संरक्षित


प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार

नेपालमा समेत वितरित चाइनिज भ्याक्सिन साइनोफार्मको भेरोसेलबाट ८० बर्षमाथिका व्यक्तिमा कोरोनाबिरुद्ध शुन्य संरक्षण प्रदान गरेको अध्ययनले निष्कर्ष निकालेको छ । यो अध्ययनको निष्कर्षसँगै संवेदनशील जनसंख्यालाई भेरोसेल भ्याक्सिन प्रदान गरेका नेपाल लगायतका दर्जनौं देशहरुमा प्रश्नचिन्ह खडा भएको छ ।

हंगेरीमा गरिएको सर्वेक्षणमा यस्तो निष्कर्ष निस्किएको हो । भेरोसेलको दोश्रो डोज लगाएको कम्तीमा १४ दिनपछि ४५० जनाको रगतको नमुना संकलन गरेर अध्ययन गरिएको थियो । जसमा ५० बर्षभन्दा कम उमेरका व्यक्ति व्यक्तिमा कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्ने एन्टीबडी ९० प्रतिशतमा देखिएको थियो ।

अध्ययनको पूर्ण पाठ यहाँ पढ्नसक्नुहुनेछ ।

तर भ्याक्सिन लगाएका त्योभन्दा माथिको उमेरकाहरुमा कोरोनाबिरुद्ध संरक्षण प्राप्त संख्या घट्दै गएको पाइएको थियो । ५० देखि माथिका व्यक्तिमा गरिएको अध्ययनमा ६० बर्षसम्मका व्यक्तिमा पुग्दा २५ प्रतिशतमा भ्याक्सिनले कुनै संरक्षण प्रदान गरेको पाइएन । भेरोसेल भ्याक्सिन लगाएका ८० बर्षमाथिका व्यक्तिमा त ५० प्रतिशतमा मात्र कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्ने एन्टीबडी भेटिएको थियो । बाँकी ५० प्रतिशतमा कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्ने एन्टीबडी शुन्य देखिएको थियो ।

यो अध्ययन हंगेरीका दुईजना बैज्ञानिकहरुले सार्वजनिक गरेका हुन् । तर अन्य वैज्ञानिकहरुले यो अध्ययनको रिभ्यु गरिसकेका छैनन् । हङकङ युनिभर्सिटीका भाइरोलोजिष्ट डाक्टर जिन डोङ यानले उच्च जोखिममा रहेका बढी उमेरका व्यक्तिमा एन्टीबडी रेस्पोन्स कम देखिनु चिन्ताजनक रहेको बताएका छन् । डाक्टर यान यो अध्ययनमा संलग्न रहेका थिएनन् ।

विज्ञहरु चिन्तित

एन्टीबडीको स्तर भ्याक्सिनले प्रदान गर्ने संरक्षणको एकमात्र मापन भने नभएको वैज्ञानिकहरुको भनाई छ । तर एन्टीबडीको स्तर संरक्षणको स्तर समेत मापन गर्ने एउटा मुख्य प्रमाणका रुपमा विकाश भइरहेको छ । एकजना विज्ञले अध्ययनमा प्रयोगको भएको परीक्षण किटको प्रयोग उचित नभएको हुनसक्ने समेत चेतावनी दिएका छन् ।

पेकिङ युनियन मेडिकल कलेजका पूर्व प्राध्यापक वाङ चेङयुवाङले साइनोफार्म भ्याक्सिनको प्रभावकारिताबारे विश्लेषण गर्ने वैज्ञानिकहरुको यो प्रयास मूल्यवान रहेको बताएका छन् । चीनको नेशनल हेल्थ कमिशनले यसबारे प्रतिकृया जनाउन अस्वीकार गरेको छ । नेशनल हेल्थ कमिशनले सरकार वा मुख्य प्रतिष्ठानहरुले गरेका अध्ययनमा मात्र प्रतिकृया जनाउने बताएको छ ।

के भन्छ विश्व स्वास्थ्य संगठन ?

विश्व स्वास्थ्य संगठनले गत मे मा मान्यता दिएको र ५० भन्दा धेरै देशमा लगाइएको साइनोफार्मको भेरोसेल भ्याक्सिनकोबारेमा प्रश्नचिन्ह खडा भएको यो नै पहिलोपटक भने होइन । विश्व स्वास्थ्य संगठनका प्रवक्ताले यो अध्ययनबारे आफूहरुलाई जानकारी भएको र उपलब्ध प्रमाणहरु हेर्ने क्रम जारी राख्ने बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका एकजना सल्लाहकारले ६० बर्षमाथिका व्यक्तिमा भेरोसेल भ्याक्सिनको प्रभावकारिताबारे महिनौं अगाडि पनि प्रश्न उठाएका थिए । तर जब विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएको थियो, त्यतीबेला बढी उमेरका व्यक्तिमा काम नगर्ने कुनै छुट्टै कारण नभएको बताइएको थियो ।

परीक्षणमा सहभागी थिएनन् ६० बर्षमाथिका

साइनोफार्म चीनको राज्यबाट संचालिन कम्पनी साइनोफार्मले दुईडोज भ्याक्सिनको विकाश गरेको थियो । जसलाई भेरोसेल भनिन्छ । भ्याक्सिनको अन्तिम क्लीनिकल परीक्षणमा ६० बर्षभन्दा कम उमेरका व्यक्तिमात्र सहभागी रहको थिए । त्यसकारण बढी उमेरका व्यक्तिमा भ्याक्सिनको प्रभावकारिताबारे परीक्षणका क्रममा समेत कुनै तथ्यांक थिएन । समग्रमा यो भ्याक्सिन लक्षण कोरोनाबिरुद्ध ७८ प्रतिशत प्रभावकारी पाइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com