अमेरिकाको एफडीएबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिनको म्याद ६ महिना कायम


प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिनको म्याद ६ साता बढाएको छ । योसँगै स्वास्थ्यकर्मीहरुलाई जोन्सन एण्ड जोन्सनको भ्याक्सिनका लाखौं डोजहरु प्रयोगका लागि थप समय मिलेको छ ।

राम्रोसँग उचित तापक्रममा भण्डारण गरिएको खण्डमा अब उत्पादनको ६ महिनासम्म यो भ्याक्सिन प्रयोग गर्न सकिने भएको छ । एफडीएले भ्याक्सिनको म्याद बढाएको यो दोश्रो पटक हो । गत जुनमा भ्याक्सिन साढे ४ महिनासम्म प्रयोग गर्न सकिनेगरी म्याद बढाइएको थियो ।

सुरुमा यो भ्याक्सिन उत्पादनको तीनमहिनासम्ममात्र प्रयोग गर्न अनुमति दिइएको थियो । सामान्य फ्रिजको तापक्रममा यो भ्याक्सिन भण्डारण गरेर प्रयोग गर्न सकिन्छ । म्यादका कारण अमेरिकाका कैयन राज्यमा लाखौं डोज भ्याक्सिन खेर जाने अवस्था रहेकोमा म्याद थपिएपछि अब ती भ्याक्सिन प्रयोगमा आउने भएका छन् ।

एकडोजमात्र लगाए पुग्ने यो भ्याक्सिनले पनि अब अमेरिकामा प्रयोगको स्वीकृति पाएका मोडेर्ना र फाइजरकै भ्याक्सिन सरहको म्याद पाएको छ । फाइजर र मोडेर्ना भ्याक्सिन पनि उचित तापक्रमममा भण्डारण गरेर ६ महिनासम्म प्रयोग गर्न सकिने अनुमति दिइएको छ ।

अमेरिकी सहयोगमा नेपाललाई कोभ्याक्समार्फत प्राप्त जोन्सन एण्ड जोन्सन साउन ४ गतेदेखि लगाउन सुरु गरिएको छ । काठमाडौंमा झण्डै डेढलाखले यो भ्याक्सिन लगाइसकेका छन् भने काठमाडौंबाहिर पनि लगाउने अभियान सुरु भइसकेको छ । झण्डै १५ लाख डोज भ्याक्सिन अमेरिकी सहयोगमा प्राप्त भएको थियो ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ । जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । मोडेर्ना र फाइजरको तुलनामा जोन्सन एण्ड जोन्सनका साइड इफेक्ट पनि कम छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन  नेपालमा भण्डारणका लागि समेत उचित व्यवस्था रहको छ ।

प्राय सबै कोरोनाबिरुद्धका भ्याक्सिन दुई डोज लगाउनुपर्ने भएतापनि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एकडोजमात्र लगाए पुग्छ । भ्याक्सिन लगाएको १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ भने २८ दिनपछि पूर्ण संरक्षण प्राप्त हुन्छ । यो अमेरिकामा प्रयोगको स्वीकृति पाएको तेश्रो भ्याक्सिन हो भने यो भ्याक्सिन अमेरिकामा झण्डै १२ मिलियनले लगाएका छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले डेल्टा भेरियन्टबिरुद्ध बलियो संरक्षण प्रदान गर्ने अध्ययनले देखाएको छ । नेपालमा डेल्टा भेरियन्टको प्रभाव रहेको अवस्थामा यो भ्याक्सिन नेपालका लागि बढी उपयोगी सावित हुनेछ । यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन अनुमति छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com