नेपाललाई खोप बेच्नेबारे खसोखासलाई फाइजरको प्रतिकृया: ‘छलफलकै क्रममा छौं’


प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार

नेपाललाई कोरोनाबिरुद्धको खोप बेच्नेबारे अमेरिकन कम्पनी फाइजरले खसोखासलाई प्रतिकृया दिदै अझै पनि यो विषय छलफलकै क्रममा रहेको बताएको छ । ६० लाख डोज फाइजर खोप किन्ने सम्झौता भइसकेको समाचार कतिपय नेपालका संचारमाध्यमहरुमा आइरहँदा फाइजरले भने कतिडोज खोप बेच्ने वा कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे टुंगो लागिनसकेको बताएको छ ।

अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर विकाश गरेको कोरोनाबिरुद्धको खोप फाइजर अमेरिकामा १२ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन स्वीकृत रहेको छ । नेपाल सरकारले पनि १२ बर्षमाथिका व्यक्तिलाई लगाउनका लागि उक्त खोप किन्ने प्रयास गरिरहेको बताएको छ । फाइजरसँग नेपाल सरकारले खोप किन्ने प्रयास गरिरहेको भने फाइजरको पुष्टी गरेको छ ।

फाइजरको कर्पोरेट अफेयर्सकी एसिया प्यासेफिक र चीनका लागि ग्लोबल मिडिया रिलेशन हेर्ने अधिकारी रोमा नायरले खसोखाससँग भनिन् – ‘फाइजर र बायोएनटेक हाम्रो कोभिड १९ भ्याक्सिन नेपाल लगायत विश्वभरका व्यक्तिका लागि उपयुक्त र किफायती पहुचका लागि काम गर्न प्रतिबद्ध छन् । नेपालको सरकारसँग हाम्रो छलफल चलिरहेको छ ।’

यसअगाडि नेपाल सरकारका स्वास्थ्य सचिवलाई उद्धृत गर्दै फाइजरसँग ६० लाख डोज खोप खरिदका लागि सम्झौता भएको समाचार कान्तिपुरमा प्रकाशित भएको थियो भने बीबीसी नेपाललीले स्वास्थ्य सचिवलाई नै उद्धृत गर्दै छलफल भइरहेको तर प्राप्त हुने डोज र मिति टुंगो नलागेको समाचार प्रकाशित गरेको थियो । फाइजरका अनुशार भने खोप बेच्ने विषयमा छलफल अगाडि बढाउनका लागिमात्र प्रारम्भिक समझदारी भएको देखिएको छ ।

उक्त खोप भने सन् २०२१ मा नेपाललाई प्राप्त हुने सम्भावना भने देखिएको छैन । खोप किन्ने सम्झौता भएमा उक्त खोप सन् २०२२ को सुरुतिर आउने सम्भावना रहेको छ । लामो समय फाइजर खोप भण्डारणका लागि नेपालसँग व्यवस्था नभएको अवस्थामा खोप आउनु अगाडि सरकारले त्यस्तो व्यवस्था गर्नुपर्नेछ ।

न्युयोर्कको म्यानहटनमा रहेको फाइजरको मुख्यालय

फाइजर खोपका विशेषता

फाइजर खोप अमेरिकामा १२ बर्षभन्दामाथिका सबैलाई लगाउन अनुमति रहेको छ भने त्योभन्दा तलका बालबालिकाहरुका सन्दर्भमा पनि परीक्षण भइरहेको छ । यो खोप २१ दिनको अन्तरालमा २ डोज लगाउनुपर्छ ।

एमआरएनए प्रविधिबाट बनाइएको यो खोप कोरोनाबिरुद्ध सिकिस्त हुनबाट रोक्न ९५ प्रतिशतभन्दा बढी प्रभावकारी रहेको छ । इजरायलको हालैको एउटा रिसर्चमा यो खोप संक्रमण नै रोक्न ३९ प्रतिशतमात्र प्रभावकारी रहेको बताइएपनि उक्त रिसर्चमा पनि संक्रमण भइहाले पनि सिकिस्त बनाउनबाट रोक्न ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको पाइएको छ ।

सीडीसीले यो भ्याक्सिन वास्तविक संसारमा पनि सिकिस्त हुनबाट बचाउन ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको बताएको छ । लगाएको स्थानमा दुख्ने, रातो हुने, सुन्निने, थकान, टाउकोदुख्ने, ज्वरो आउने, वाकवाकी लाग्नेजस्ता यो भ्याक्सिनका सामान्य साइड इफेक्टहरु रहेपनि कुनै पनि प्रकारका गम्भिर साइड इफेक्टका मामला बाहिर आएका छैनन् ।

फाइजर भ्याक्सिनका पग्लिएका र नखोलिएका शिशीहरु विगतमा ५ दिनसम्म २ डिग्रीदेखि ८ डिग्रीसम्मको तापक्रममा राख्न सकिने एफडीएले बताएको थियो । तर पछिल्लो तथ्यांक अनुशार यो तापक्रममा १ महिनासम्म राख्न सकिने भएकाले यो भ्याक्सिन नेपालमा ल्याएर तत्काल वितरण गरिएको खण्डमा अहिलेकै भण्डारण क्षमताबाट पनि कुनै समस्या नहुने देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com