जोन्सन एण्ड जोन्सन भ्याक्सिनका कस्ता साइड इफेक्ट सामान्य? कस्ता गम्भीर?


प्रकाशित मिति : श्रावण १०, २०७८ आईतबार

कोरोनाबिरुद्धका हरेक भ्याक्सिनका सामान्य साइड इफेक्टहरु रहेका छन् । तर कस्ता साइड इफेक्टलाई सामान्य मानिएको छ ? कस्ता साइड इफेक्टलाई असामान्य मानिएको छ ? यसबारे भ्याक्सिन लगाउने व्यक्तिले थाहा पाउन जरुरी हुन्छ । जोन्सन एण्ड जोन्सनका साइड इफेक्टबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

इन्जेक्सन लगाएको पाखुरा दुख्ने

धेरैजनामा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएपछि इन्जेक्सन लगाएको पाखुरा दुख्ने समस्या आउँछ । र, यसलाई सामान्य साइड इफेक्टका रुपमा लिइएको छ । भ्याक्सिन लगाएको एकदेखि दुईदिनसम्म पाखुरा दुख्ने समस्या धेरैमा देखिएपनि आराम गरेपछि यो समस्या आफै समाधान भएर जाने गरेको छ ।

दुईप्रकारका साइड इफेक्ट

सिटी युनिभर्सिटी अफ न्युयोर्कका स्वास्थ्य नीति र व्यवस्थापनबारेका प्राध्यापक डाक्टर बु्रस वाई लीले दुई मुख्य श्रेणीमा साइड इफेक्ट देखिने गरेको बताएका छन् । जसमध्ये पहिलो इन्जेक्सन लगाएको पाखुरामा दुख्ने, छाला रातो हुने, सुन्निने प्रतिकृया देखिने गरेको छ भने दोश्रो रुघाका जस्ता लक्षण देखिने, मांसपेशी दुख्ने, ज्वरो आउने, थकान अनुभव हुने र वाकवाकी लाग्ने जस्ता साइड इफेक्ट रहेका छन् ।

टाउको दुख्ने र रुघाका जस्ता लक्षण सामान्य

भ्याक्सिनले काम गर्ने दौरानमा ५० प्रतिशतभन्दा बढीमा प्रणालीगत साइड इफेक्ट देखिने गरेको छ । त्यसमध्ये टाउको दुख्ने, थकान अनुभव हुने, मांशपेशी दुख्ने जस्ता साइड इफेक्ट रहेका छन् । वाकवाकी लाग्ने र ज्वरो आउने साइड इफेक्ट देखिनेहरु त्योभन्दा अझ कम रहेका छन् ।

टाउको दुख्ने, थकान अनुभव हुने र मांशपेशी दुख्ने समस्या औषतमा २ दिनसम्म रहने गरेको छ । वाकवाकी लाग्ने र ज्वरो आउने साइड इफेक्ट औषतमा १ दिन रहने गरेको छ । २ प्रतिशतभन्दा बढी भने साइड इफेक्टले सिकिस्तजस्तै बन्ने गरेका छन् । तर अस्पताल भनै भर्ना हुने अवस्था भने होइन ।

यस्ता प्रकारका साइड इफेक्ट हुँदैमा आत्तिनु पर्दैन । ज्वरो कम गर्ने औषधी र दुख्न कम गर्ने औषधीको सेवन गरेर आराम गरेमा यस्ता साइड इफेक्टहरु आफै हराउने गरेका छन् ।

कस्ता साइड इफेक्टहरु गम्भिर?

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले प्रतिरक्षा प्रणालीमा डिस्अर्डर पैदा हुने गियान बार सिन्ड्रोम र रगतका थोपा जम्ने जस्ता अत्यन्तै थोरै मामलाहरु पनि आएका छन् । यस्ता मामलाहरु अत्यन्तै दुर्लभ भएपनि यसबारे चेतावनीहरु भने दिइएको छ । भ्याक्सिन लगाएका झण्डै १३ मिलियनमध्ये झण्डै १ सयमा गियान बार सिन्ड्रोम देखिएको थियो । ९५ जनाको केस गम्भीर प्रकारको रहेको र उनीहरु अस्पतालमा नै भर्ना हुनुपरेको थियो ।

गियान बार सिन्ड्रोम यस्तो दुर्लभ प्रकारको डिस्अर्डर हो, जसले व्यक्तिको इम्युन प्रणालीले नर्भ सेलहरुमा क्षति गराउँछ । जसका कारण माशंपेशी कमजोर हुनुका साथै प्यारालाइसिस समेत हुनसक्छ । यस्तो सिन्ड्रोम भएका अधिकांश व्यक्ति पूर्णरुपमा निको हुनसक्छन् । तर केही व्यक्तिलाई भने निको हुन लामो समय लाग्नसक्ने जनाइएको छ ।

भ्याक्सिन लगाएपछि खुट्टा र पाखुरामा झमझमाउने, हिडडुल गर्न कठिन हुने, अनुहारको चालमा समस्या हुने, दुईवटा दृश्य देखिने, आँखा चलाउन गाह्रो हुने, दिशापिसाव नियन्त्रण गर्न गाह्रो हुने लगायतका समस्या देखिएमा यो गम्भीर प्रकारको समस्या हो । यस्तो अवस्थामा तुरुन्तै स्वास्थ्य सहायता खोज्नुपर्छ वा अस्पताल गइहाल्नुपर्छ । भ्याक्सिन लगाएपछि व्यक्तिमा झमझमाउने र कमजोरी अनुभव भएमा तत्काल स्वास्थ्य सहायता खोज्न एफडीएले सुझाव दिएको छ ।

रगतका थोपा जम्ने समस्यामा कस्ता लक्षण ?

त्यस्तै भ्याक्सिन लगाएका अत्यन्तै कममा दुर्लभ प्रकारको रगतका थोपा जम्ने समस्या देखिएको थियो । झण्डै ८ मिलियनले भ्याक्सिन लगाउँदा १५ जनामा यस्तो समस्या देखिएको थियो । ५० बर्षभन्दा कम उमेरका महिलामा यस्तो समस्या देखिएको थियो ।

यसका लक्षणहरु स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, खुट्टा सुनिने, पेट असाध्यै दुख्ने, दृश्यहरु दुईवटा देखिने लगायत रहेका छन् । त्यस्तै सहनै नसकिनेगरी टाउको दुख्ने र भ्याक्सिन लगाएको स्थानभन्दा तलपट्टी छालामा साना रगतका धब्बा देखिएमा पनि तत्कालै स्वास्थ्य सहायता खोज्न सुझाव दिइएको छ । भ्याक्सिन लगाएपछि यस्ता साइड इफेक्ट देखिएमा तत्कालै स्वास्थ्य सहायता खोज्नुपर्छ ।

यस्ता साइड इफेक्टहरु गम्भीर प्रकारका हुनसक्छन् । यस्ता साइड इफेक्टहरु भ्याक्सिन लगाएको दुईसाताभित्रमात्र देखिने गरेका छन् । आष्ट्राजेनेका वा कोभिशिल्ड भ्याक्सिन लगाएका अत्यन्तै कम व्यक्तिमा रगत जम्ने समस्या देखिएको थियो ।

भ्याक्सिन लगाएपछिका सम्भावित साइड इफेक्टबारे विस्तारमा थाहा पाउन अमेरिकन सीडीसीको वेवसाइट हेर्न सक्नुहुनेछ ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com