जोन्सन एण्ड जोन्सनको प्रभावकारितामाथि प्रश्नचिन्ह, फाइजर वा मोडेर्नाको बुस्टर शट लिन सुझाव


प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार

न्युयोर्क युनिभर्सिटीको ल्याबको पछिल्लो अध्ययनले कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनको प्रभावकारितामाथि प्रश्नचिन्ह खडा भएको छ । अध्ययनबाट जोन्सन एण्ड जोन्सनले कोरोनाको डेल्टा भेरियन्टबिरुद्ध फाइजर वा मोडेर्नाका तुलनामा कम एन्टीबडी उत्पादन गरेको पाइएको थियो ।

अमेरिकामा आईसीयु र फोक्सोका चिकित्सक डाक्टर भिन गुप्ताले एकडोजमात्र जोन्सन एण्ड जोन्सन लिएकाहरुलाई मोडेर्ना वा फाइजरको बुस्टर डोज लिन सुझाव दिएका छन् । अमेरिकामा डेल्टा भेरियन्ट नाटकीय रुपमा बृद्धि भइरहेको छ भने संक्रमितमध्ये ८३ प्रतिशतभन्दा धेरैमा डेल्टा भेरियन्ट देखिएको छ ।

युनिभर्सिटी अफ वासिंटनको स्वास्थ्य प्रतिष्ठानका डाक्टर गुप्ताले पहिलो डोज आष्ट्राजेनेका (कोभिशिल्ड) लगाएकाहरुले दोश्रो डोज फाइजर वा मोडेर्ना भ्याक्सिन लगाउँदा एन्टीबडी उत्पादनको सन्दर्भमा डेल्टा भेरियन्टबिरुद्ध निकै उच्च प्रकारको संरक्षण देखिएको बताएका छन् । एकडोज जोन्सन एण्ड जोन्सन लगाएका आफ्ना बिरामीहरुलाई पहिले नै दोश्रो डोज फाइजर वा मोडेर्ना लगाउन सुझाव दिने गरेको उनको भनाई छ ।

न्युयोर्क युनिभर्सिटीको अध्ययन जोन्सन एण्ड जोन्सन भ्याक्सिनको प्रभावकारिताबारे प्रश्नचिन्ह खडा भएपनि यो अध्ययनको निष्कर्ष अझै रिभ्यु गरिएको छैन । अध्ययनले जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुमा देखिएको एन्टीबडीको स्तर डेल्टा भेरियन्टबिरुद्ध संरक्षण प्रदान गर्न कम देखिएको छ ।

उक्त अध्ययनका लिड अथर डाक्टर नेड लान्डउले जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएकाहरुले या त सोही भ्याक्सिनको दोश्रो डोज या त मोडेर्ना वा फाइजरको बुस्टर डोज लगाउनुपर्ने बताएका छन् । जोन्सन एण्ड जोन्सनले भने डेल्टा भेरियन्टबिरुद्ध भ्याक्सिनले बलियो प्रतिकृया उत्पन्न गरेको दावी गरेको छ ।

यस अगाडि सीडीसीले पूर्णरुपमा भ्याक्सिन लगाएका अमेरिकनहरुलाई बस्टर डोज आवश्यक नभएको बताएको थियो । जस अनुशार जोन्सन एण्ड जोन्सनको एक डोज र मोडेर्ना वा फाइजरको दुई डोज पर्छ ।

नेपालमा पनि अहिले धमाधम जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण भइरहेको छ । नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल पनि वितरण भइरहेको छ । भेरोसेल भ्याक्सिनलाई अमेरिका लगायत युरोपका कैयन देशले मान्यता दिएका छैनन् । यसका तथ्यांकहरु पनि स्पष्ट छैनन् ।

त्यस्तै नेपालमा आष्ट्राजेनेका (कोभिशिल्ड) भ्याक्सिन पनि लगाइएको छ । पहिलो डोज कोभिशिल्ड लगाएका झण्डै १३ लाखले दोश्रो डोज लगाउन पाएका छैनन् ।

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com