अमेरिकाका कोरोना संक्रमणका केसहरुमध्ये ८३ प्रतिशत डेल्टा भेरियन्ट


प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार

अमेरिकाका कोरोना संक्रमणका केसहरुमध्ये ८३ प्रतिशत डेल्टा भेरियन्ट रहेको सीडीसी निर्देशक डाक्टर रोशेल वालेन्स्कीले जानकारी दिएकी छिन् । स्वास्थ्य, शिक्षा, पेन्सन र श्रमबारेको सिनेटको सुनुवाईमा बोल्दै उनले अमेरिकामा कोरोना संक्रमणमा डेल्टा भेरियन्ट हावी रहेको जानकारी दिएकी हुन् । डेल्टा भेरियन्ट पहिलोपटक भारतमा भेटिएको थियो ।

अमेरिकामा डेल्टा भेरियन्टका कारण संक्रमणदर पनि बढ्दै गएको जनाइएको छ । यो भेरियन्टले अमेरिकामा अस्पताल भर्ना हुने दर र मृत्युदर पनि बढाएको छ । यो भेरियन्ट अत्यन्तै संक्रामक रहेको छ भने हरेक साता दोब्बर हुँदै गएको छ ।

एकमहिना अगाडि जुन १९ मा अमेरिकामा रहेका कोरोना संक्रमणका केसहरुमध्ये जम्मा ३० प्रतिशत नयाँ केसहरुमामात्र डेल्टा भेरियन्ट पाइएको थियो । तर जुलाई २ मा यो दर ५० प्रतिशत नाघेको थियो । तर अहिले यो दर ह्वात्तै बढेर ८३ दशमलव २ प्रतिशत पुगेको छ ।

अध्ययनले कोरोनाबिरुद्धका भ्याक्सिनहरु विभिन्न प्रकारका भेरियन्टहरुबिरुद्ध प्रभावकारी रहेको देखाएको छ । खोपहरु डेल्टा भेरियन्टबिरुद्ध पनि प्रभावकारी रहेका छन् । तर अमेरिकामा खोप लगाउने गति अहिले सुस्त भएको छ । अहिलेसम्म अमेरिकाको कुल जनसंख्याको ४८ प्रतिशतलेमात्र खोप लगाएका छन् ।

भ्याक्सिन नलगाएकाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । जसमा १२ बर्षभन्दा कम उमेरका बालबालिकाहरु समेत रहेका छन् । अमेरिकामा १२ बर्षभन्दा कम उमेरकाहरुलाई कोरोनाबिरुद्धको खोप लगाउन अनुमति दिइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com