आजदेखि जोन्सन एण्ड जोन्सनको खोप, कस्ले लगाउने भन्नेबारे स्थानीय निकायका थप नियम


प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार

काठमाडौंमा आज साउन ४ देखि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण सुरु गरिएको छ । साउन ६ सम्म भ्याक्सिन वितरण गरिनेछ । तर भ्याक्सिन वितरणका सन्दर्भमा वितरणलाई सहज बनाउन केन्द्रीय सरकारको मापदण्डभित्र स्थानीय निकायहरुले थप मापदण्डहरु कायम गरेका छन् ।

अधिकांश भेरोसेलकै खोप वितरण गरिएका खोप केन्द्रहरुबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरण गरिने भएपनि कतिपय पालिकाहरुका सन्दर्भमा भने खोप केन्द्रहरु परिवर्तन गरिएको छ । ५० देखि ५४ बर्षसम्मका व्यक्तिलाई कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सनको खोप वितरणको तालिका रहेकोमा केही खोपकेन्द्रहरु विस्तार गरिएका छन् ।

बुढानिलकण्ठमा जोन्सन एण्ड जोन्सनको खोप लगाउन लाइनमा सर्वसाधारण ।

टोखा नगरपालिकामा खोप केन्द्रहरु ग्राण्डी अस्पताल, मनोहर माबी र धापासी स्वास्थ्य चौकी रहेका छन् । आज साउन ३ गतेसम्म अनलाइन दर्ता भई ४ गतेसम्म एसएमएस प्राप्त भएका व्यक्ति र अपांगता भएका व्यक्तिलाई लगाइदैछ । अनलाइन दर्ता भएका र एसएमएस पाएकाहरुले तोकिएको समयमा अनलाइन दर्ता र एएसएमएसको प्रमाण लिएर आउनुपर्नेछ । साउन ५ मा ५२, ५३ र ५४ बर्षकाहरु, सरसफाइकर्मीहरु र अपांगता भएकालाई दिइनेछ । साउन ६ मा ५० र ५१ बर्षका, अपांगता भएका, स्वास्थ्यकर्मीहर र सफाइकर्मीहरुलाई दिइनेछ ।

यसरी स्थानीय निकायहरुले थप नियमहरु बनाएकाले भ्याक्सिन लगाउन जानु अगाडि स्थानीय निकायका सुचनाहरु हेर्न वा सम्पर्क गर्न सुझाव दिइएको छ । पहिलो दिन काठमाडौं महानगरपालिकामा पनि अपांगता भएकाहरुलाई विशेष प्राथमिकता दिइएको छ ।

को को योग्य ?

जोन्सन एण्ड जोन्सन भ्याक्सिन  ५० देखि ५४ वर्ष उमेरका व्यक्तिले लगाउन सक्नेछन् । तोकिएको उमेर समुह बाहेक जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन अशक्त र अपाङ्गता भएका व्यक्ति समेत योग्य रहेका छन् । त्यस्तै नेपालमा रहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत यो भ्याक्सिन पाउन योग्य छन् ।

भ्याक्सिन लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

जोन्सन एण्ड जोन्सन भ्याक्सिनका  मुख्य  विशेषता

१, जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ । जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । मोडेर्ना र फाइजरको तुलनामा जोन्सन एण्ड जोन्सनका साइड इफेक्ट पनि कम छन् ।

२, जोन्सन एण्ड जोन्सनको भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन  नेपालमा भण्डारणका लागि समेत उचित व्यवस्था रहको छ ।

३, प्राय सबै कोरोनाबिरुद्धका भ्याक्सिन दुई डोज लगाउनुपर्ने भएतापनि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एकडोजमात्र लगाए पुग्छ । भ्याक्सिन लगाएको १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ भने २८ दिनपछि पूर्ण संरक्षण प्राप्त हुन्छ । यो अमेरिकामा प्रयोगको स्वीकृति पाएको तेश्रो भ्याक्सिन हो भने यो भ्याक्सिन अमेरिकामा झण्डै १२ मिलियनले लगाएका छन् ।

४, यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन अनुमति छ । यद्यपी ५० बर्षभन्दा कम उमेरका महिलालाई यो भ्याक्सिन लगाउँदा भने सावधान हुन चेतावनी दिइएको छ । भ्याक्सिन लगाएपछि कम प्लेटलेस र रगत जम्नसक्ने दुर्लभ जोखिमका कारण ५० बर्षभन्दा कम उमेरका महिलाले यो भ्याक्सिन लगाउँदा विचार गर्न भनिएको छ । भ्याक्सिन कोरोना संक्रमणबिरुद्ध सुरक्षित र प्रभावकारी रहेको तथा जोखिमको तुलनामा फाइदा धेरै भएकाले जोखिमलाई फाइदाले जितेको अमेरिकाको एफडीए र सीडीसीको निष्कर्ष छ ।

५, जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले डेल्टा भेरियन्टबिरुद्ध बलियो संरक्षण प्रदान गर्ने अध्ययनले देखाएको छ । नेपालमा डेल्टा भेरियन्टको प्रभाव रहेको अवस्थामा यो भ्याक्सिन नेपालका लागि बढी उपयोगी सावित हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com