काठमाडौंमा साउन ४ देखि जोन्सन एण्ड जोन्सनको खोप वितरण यथावत, केन्द्रहरु बदलिन सक्ने


प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार

काठमाडौंमा साउन ४ देखि ६ सम्म जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण गर्ने तालिका यथावत नै रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । अधिकांश भेरोसेलकै खोप वितरण गरिएका खोप केन्द्रहरुबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरण गर्ने तयारी भएपनि कतिपय नगरपालिकाहरुका सन्दर्भमा भने खोप केन्द्रहरु परिवर्तन हुनसक्ने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुशार भोलि साउन ४ देखि ६ सम्म ५० देखि ५४ बर्षसम्मका व्यक्तिलाई कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सनको खोप वितरण गरिने तालिका परिवर्तन भएको छैन भने खोप वितरण अभियान अरु कारणले प्रभावित भएको छैन । खोपकेन्द्रहरु विस्तार हुने भएकाले स्थानीय जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न सुझाव दिइएको छ ।

टोखा नगरपालिकामा खोप केन्द्रहरु परिवर्तन हुनसक्ने नगरपालिकाले जानकारी दिएको छ । तर जोन्सन एण्ड जोन्सनको खोप वितरण अभियान भने साउन ४ देखि ६ सम्म यथावत नै रहेको टोखा नगरपालिकाको भनाई छ । त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख रमादेवी राईका अनुशार साउन ४ देखि ६ सम्म जोन्सन एण्ड जोन्सनको खोप वितरण तालिका यथावत नै रहेको छ ।

नेपाल प्रहरी अस्पताल काठमाडौंले भने भोलिदेखि जोन्सन एण्ड जोन्सनको खोप वितरणबारे आफूहरुकहाँ कुनै जानकारी नआइसकेको जानकारी दिएको छ । काठमाडौं महानगरपालिकाले साउन ४ देखि ६ को खोप अभियानबारे कुनै थप सुचना र जानकारी सार्वजनिक गरेको छैन ।

को को योग्य ?

जोन्सन एण्ड जोन्सन भ्याक्सिन  ५० देखि ५४ वर्ष उमेरका व्यक्तिले लगाउन सक्नेछन् । तोकिएको उमेर समुह बाहेक जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन अशक्त र अपाङ्गता भएका व्यक्ति समेत योग्य रहेका छन् । त्यस्तै नेपालमा रहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत यो भ्याक्सिन पाउन योग्य छन् ।

भ्याक्सिन लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

जोन्सन एण्ड जोन्सन भ्याक्सिनका  मुख्य  विशेषता

१, जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ । जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । मोडेर्ना र फाइजरको तुलनामा जोन्सन एण्ड जोन्सनका साइड इफेक्ट पनि कम छन् ।

२, जोन्सन एण्ड जोन्सनको भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन  नेपालमा भण्डारणका लागि समेत उचित व्यवस्था रहको छ ।

३, प्राय सबै कोरोनाबिरुद्धका भ्याक्सिन दुई डोज लगाउनुपर्ने भएतापनि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एकडोजमात्र लगाए पुग्छ । भ्याक्सिन लगाएको १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ भने २८ दिनपछि पूर्ण संरक्षण प्राप्त हुन्छ । यो अमेरिकामा प्रयोगको स्वीकृति पाएको तेश्रो भ्याक्सिन हो भने यो भ्याक्सिन अमेरिकामा झण्डै १२ मिलियनले लगाएका छन् ।

४, यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन अनुमति छ । यद्यपी ५० बर्षभन्दा कम उमेरका महिलालाई यो भ्याक्सिन लगाउँदा भने सावधान हुन चेतावनी दिइएको छ । भ्याक्सिन लगाएपछि कम प्लेटलेस र रगत जम्नसक्ने दुर्लभ जोखिमका कारण ५० बर्षभन्दा कम उमेरका महिलाले यो भ्याक्सिन लगाउँदा विचार गर्न भनिएको छ । भ्याक्सिन कोरोना संक्रमणबिरुद्ध सुरक्षित र प्रभावकारी रहेको तथा जोखिमको तुलनामा फाइदा धेरै भएकाले जोखिमलाई फाइदाले जितेको अमेरिकाको एफडीए र सीडीसीको निष्कर्ष छ ।

५, जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले डेल्टा भेरियन्टबिरुद्ध बलियो संरक्षण प्रदान गर्ने अध्ययनले देखाएको छ । नेपालमा डेल्टा भेरियन्टको प्रभाव रहेको अवस्थामा यो भ्याक्सिन नेपालका लागि बढी उपयोगी सावित हुनेछ ।

भेरोसेल लगाउन गएका घण्टौं लाइनमा बसेर फर्किए

असार २९ देखि साउन २ सम्म काठमाडौं उपत्यकामा चाइनिज खोप भेरोसेल वितरण गरिएको थियो । कतिपय नगरपालिकाहरुले असार ३० देखि खोप अभियान संचालन गरेका थिए । तर साउन २ मा खोपको अभाव भएको भन्दै कतिपय खोपकेन्द्रमा घण्टौं लाइनमा बसेकाहरुलाई खोप नलागाई फिर्ता पठाइएको थियो ।

काठमाडौं महानगरपालिकाले साउन १ मा सुचना निकालेर प्रयाप्त खोप उपलब्ध नभएको भन्दै खोप कार्यक्रम स्थगित गरेको जनाएको थियो । सुचनाको अभावमा साउन २ मा खोप लगाउन केन्द्रहरुमा गएका कैयन व्यक्ति खोप नलगाई निराश भएर फर्कनुपरेको थियो । त्यस्तै टोखा नगरपालिकामा पनि यस्तै समस्या आएको थियो । खोपको अभाव भएको भन्दै साउन २ को खोप कार्यक्रम स्थगित गरिएकोमा सुचनाको अभावमा कैयनले दुख पाएका थिए ।

काठमाडौंबाहेक अन्य जिल्लामा पनि घण्टौं लाइनमा बसेर खोप नपाएर फर्कनुपरेको कैयनको गुनासो रहेको छ । खोप वितरणमा अव्यवस्थीत लाइन, पहुचमा आधारमा खोपको वितरण, लाइनमा बसेकाहरुलाई खोप नलगाई फिर्ता जस्ता समस्या देखिएका छन् ।

अहिलेसम्म तय भएका भ्याक्सिन वितरण केन्द्र

भ्याक्सिन वितरण केन्द्रहरुमा फेरबदल हुनसक्ने भएकाले आआफ्नो पालिका, खोपकेन्द्र वा स्थानीय निकायमा बुझेरमात्र खोप लगाउन जानुहोला ।

काठमाडौं महानगरपालिकाभित्र खोपकेन्द्र :

गोकर्णेश्वर, टोखा, नागार्जुन, चन्द्रागिरी, शंखरापुर र दक्षिकालीका खोप केन्द्रहरु

कागेश्वरी मनोहरा र तारकेश्वरका खोप केन्द्रहरु

कीर्तिपुर र बुढानिलकण्ठका खोप केन्द्रहरु

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com