चाइनिज भ्याक्सिन सिनोभ्याकका तुलनामा फाइजरबाट कोरोनाबिरुद्ध दशगुणाबढी एन्टीबडी उत्पादन
चाइनिज भ्याक्सिन सिनोभ्याक लगाएकाहरुका तुलनामा बायोएनटेकको फाइजर भ्याक्सिन लगाएकाहरुमा १० गुणाबढी एन्टीबडी देखिएको अध्ययनले देखाएको छ । फरक फरक भ्याक्सिनका प्रभावकारिताबारेको बढ्दो तथ्यांक थप गर्दै हङकङमा गरिएको अध्ययनमा यस्तो देखिएको हो ।
युनिभर्सिटी अफ हङकङले गरेको यो अध्ययनमा भ्याक्सिन लगाएका १४४२ जना स्वास्थ्यकर्मीको एन्टीबडीको नमुना हेरिएको थियो । यद्यपी एन्टीबडीमात्र निश्चित रोगबिरुद्ध लड्न भ्याक्सिनको सफलताको मापदण्ड नरहेको शोधकर्ताहरुले बताएका छन् ।
एमआरएनए विधिबाट बनाइएका मोडेर्ना र फाइजर जस्ता भ्याक्सिनहरुले कोरोनाबिरुद्ध उत्तम संरक्षण प्रदान गर्नेपनि अध्ययनकर्ताहरुले बताएका छन् । भाइरसका अंशहरुलाई निस्कृय बनाएर विकाश गरिएका परम्परागत भ्याक्सिनको तुलनामा एमआरएनए विधिबाट बनाइएका भ्याक्सिनहरु कोरोनाको नयाँ भेरियन्टबिरुद्ध पनि प्रभावकारी देखिएका छन् ।

शोधकर्ताहरुको आगामी अध्ययन बुस्टर शटबारे हुने भएको छ । चाइनिज भ्याक्सिन सिनोभ्याक लगाएकाहरुलाई बुस्टरका लागि प्राथमिकता दिइने र फाइजर लगाएकाहरुलाई बुस्टर शट लगाउन हतार नभएको अध्ययनकर्ताहरुको भनाई छ ।
कोरोना महामारी सुरु भएपछि कोरोनाभाइरसबारेका विभिन्न अध्ययनहरुमा हङकङ विश्वकै नेता रहदै आएको छ । सन् २००३ मा दक्षिणी चीनमा देखिएको सार्सको अध्ययनदेखि नै हङकङले नेतृत्वदायी भूमिका निभाउदै आएको छ । हङकङमा अहिले अमेरिका र जर्मन कम्पनीले मिलेर विकाश गरेको फाइजर र चीनमा विकाश गरिएको सिनोभ्याक भ्याक्सिन लगाइएको छ ।

अहिलेसम्म हङकङमा २६ लाख फाइजर र १८ लाख सिनोभ्याक भ्याक्सिन वितरण गरिसकिएको छ । सिटीको ७५ लाख जनसंख्यामध्ये २८ प्रतिशतलेमात्र भ्याक्सिन लगाउन पाएका छन् ।
यी दुबै भ्याक्सिन नेपालमा प्रयोगमा छैनन् । अमेरिकाले नेपालमा दिएको भ्याक्सिन जोन्सन एण्ड जोन्सन हो भने चीनबाट ल्याएर लगाइदै गरेको भ्याक्सिन साइनोफार्मको भेरोसेल हो । बेलायतमा विकाश गरिएको आष्ट्राजेनेकाको कोभिशिल्ड पनि नेपालमा लगाइएको छ ।





