न्युयोर्कमा कोरोना संक्रमणदर झण्डै ७५ प्रतिशत बृद्धि, ६९% डेल्टा भेरियन्ट, संक्रमित प्राय भ्याक्सिन नलगाएका


प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार

दुईसाताको तुलनामा न्युयोर्कमा कोरोना संक्रमणदर झण्डै ७५ प्रतिशतले बृद्धि भएको छ । गभर्नर एन्ड्रयु कुमोका अनुशार कुल परीक्षणमध्ये १ दशमलव १७ प्रतिशतमा संक्रमण पुष्टी भएको छ भने कुल परीक्षणमध्ये साप्ताहिक रुपमा संक्रमण पुष्टी हुने दर १ दशमलव शुन्य ४ प्रतिशत रहेको छ ।

बिहिबार ८१ हजार ९ सय ५१ जनाको परीक्षण गर्दा ९५६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जुलाई ५ मा २ सय ५५ जनामा संक्रमण पुष्टी भएको थियो । न्युयोर्कमा परीक्षण गरिएकाहरुमध्ये कोरोना संक्रमण पुष्टी दर १ प्रतिशत नाघेको कैयन महिनापछि हो ।

न्युयोर्क सिटीमा पुष्टी भएका संक्रमणहरुमा झण्डै ६९ प्रतिशत डेल्टा भेरियन्ट रहेको जनाइएको छ । एकसाता अगाडि कुल संक्रमणमा डेल्टा भेरियन्ट ४४ प्रतिशतमात्र रहेको थियो । न्युयोर्क सिटीमामात्र बिहिबार ४०९ जनामा संक्रमण पुष्टी भएको थियो ।

न्युयोर्कमा कोरोना संक्रमण पुष्टी हुने, अस्पतालमा भर्ना हुने र ज्यान गुमाउनेहरु प्राय सबै भ्याक्सिन नलगाएकाहरु रहेका छन् । यो बर्षको ६ महिनामा कोरोना संक्रमण पुष्टी हुने ५ लाख ३ सयमध्ये जम्मा १ दशमलव १ प्रतिशतहरुमात्र भ्याक्सिन लगाएकाहरु हुन् भने अरु सबै ९८ दशमलव ९ प्रतिशत भ्याक्सिन नलगाएकाहरु छन् ।

जनवरीदेखि जुनसम्म न्युयोर्क सिटीमा पूर्णरुपमा भ्याक्सिन लगाएका ५ हजार ३ सयमा संक्रमण पुष्टी भएको थियो भने ५८३ जना पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु अस्पतालमा भर्ना भएका थिए । न्युयोर्क सिटीमा भ्याक्सिन अभियान संचालन भएपछि ४४ हजार व्यक्ति अस्पताल भर्ना हुनबाट बचेको र २ लाख ५० हजार व्यक्ति संक्रमण हुनबाट बचेको विश्लेषण गरिएको छ । साथै गतबर्षको डिसेम्बरदेखि जुलाईसम्म ८ हजार ३ सयको ज्यान जोगिएको यल युनिभर्सिटीको अध्ययनले देखाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com