जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरणबारे अन्यौल हट्यो, काठमाडौंमा साउन ४ देखि ६ सम्म


प्रकाशित मिति : असार ३०, २०७८ बुधबार

काठमाडौंमा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरणका सन्दर्भमा रहेको अन्यौल हटेको छ । हिजो बसेको बैठकले साउन ४ देखि ६ सम्म काठमाडौंका विभिन्न खोप केन्द्रहरुबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरण गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिएकी छिन् ।

यसअगाडि स्वास्थ्य मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेशन सेन्टर एचईओसीका अधिकारीहरुले हिजोदेखि नै जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण सुरु भइसकेको बताएपछि अन्यौल श्रृजना भएको थियो । ती अधिकारीले काठमाडौंका केही अस्पतालबाट जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण सुरु भइसकेको र बाँकीमा छिट्टै गरिने जानकारी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी नेपालले भनिन् – ‘सोमबार नै यसबारे निर्णय गर्न भनिएको थियो । तर सोमबार सबै जुट्न नसक्दा मंगलबारमात्र बैठक बस्न सम्भव भयो । मंगलबार बसेको बैठकले साउन ४ देखि ६ सम्म काठमाडौंमा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण गर्ने निर्णय गरेपनि अब यो अन्यौल हटेको छ ।’

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

अहिले काठमाडौं महानगरपालिकामा १८ वटा केन्द्रबाट खोप वितरण संचालन गर्ने निर्णय गरिएको तर खोप लगाउनेको चाप बृद्धि भएमा त्यसलाई विस्तार गरेर २५ सम्म बनाउनेबारे काम भइरहेको उनले बताइन् । खोप केन्द्र बिस्तार गरिएको खण्डमा त्यसको जानकारी सार्वजनिक रुपमा नै उपलब्ध गराउने नेपालले जानकारी दिइन् ।

मंगलबारदेखि काठमाडौंमा भेरोसेल खोप वितरण भने सुरु भइसकेको छ । कतिपय नगरपालिकाले बुधबारदेखि भेरोसेल खोप वितरण सुरु गरेका छन् । असार २९ देखि साउन २ सम्म भेरोसेल खोप वितरण हुने र एकदिन खाली राखेर साउन ४ बाट ती केन्द्रहरुबाट नै जोन्सन एण्ड जोन्सनको खोप वितरण हुने भएको छ ।

काठमाडौं महानगरपालिकाभित्र खोपकेन्द्र :

गोकर्णेश्वर, टोखा, नागार्जुन, चन्द्रागिरी, शंखरापुर र दक्षिकालीका खोप केन्द्रहरु

कागेश्वरी मनोहरा र तारकेश्वरका खोप केन्द्रहरु

कीर्तिपुर र बुढानिलकण्ठका खोप केन्द्रहरु

जोन्सन एण्ड जोन्सन भ्याक्सिन  ५० देखि ५४ वर्ष उमेरका व्यक्तिले लगाउन सक्नेछन् । तोकिएको उमेर समुह बाहेक जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन अशक्त र अपाङ्गता भएका व्यक्ति समेत योग्य रहेका छन् । त्यस्तै नेपालमा रहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत यो भ्याक्सिन पाउन योग्य छन् ।

भ्याक्सिन लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।

५५ बर्षभन्दा माथिकाहरु भने चाइनिज भ्याक्सिन भेरोसेल लगाउन योग्य छन् । विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक पनि भेरोसेल लगाउन योग्य रहेका छन् । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाउन योग्य रहेका छन् ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com