२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

अमेरिकी सहयोगमा नेपाललाई प्राप्त जोन्सन एण्ड जोन्सन ५० देखि ५४ बर्षकालाई

अमेरिकाले कोभ्याक्समार्फत प्रदान गरेको १५ लाख डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन  ५० देखि ५४ वर्ष उमेरका व्यक्तिलाई दिइने भएको छ ।

सोमवारको मन्त्रिपरिषद्को निर्णय अनुसार मङ्गलवारदेखि नै भ्याक्सिन कार्यक्रमहरू सञ्चालन गरिने जनाइएपनि मंगलबारदेखि भने भ्याक्सिन वितरण हुन सकेन । तोकिएको उमेर समुह बाहेक जोन्सन एण्ड जोन्सन भ्याक्सिन अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई समेत प्रदान गरिने भएको छ । नेपालमा रहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत यो भ्याक्सिन दिइने भएको छ ।

अमेरिकाले कोभ्याक्समार्फत प्रदान गरेको भ्याक्सिन काठमाडौंमा । फोटो: अमेरिकी विदेश मन्त्रालय

भ्याक्सिन लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।

अहिलेसम्म नेपालमा झण्डै ११ लाखले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । कोभिशिल्डको पहिलो मात्रा लगाएका झण्डै १४ लाखले ४ महिना बित्न लाग्दा पनि दोस्रो डोज लगाउन पाएका छैनन्।

५५ बर्षभन्दा माथिकाहरुलाई भने चाइनिज भ्याक्सिन भेरोसेल प्रदान गरिनेछ । विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ। नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ।

जोन्सन एण्ड जोन्सन भ्याक्सिनका ५ मुख्य  विशेषता

१, जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ । जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । मोडेर्ना र फाइजरको तुलनामा जोन्सन एण्ड जोन्सनका साइड इफेक्ट पनि कम छन् ।

२, जोन्सन एण्ड जोन्सनको भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन  नेपालमा भण्डारणका लागि समेत उचित व्यवस्था रहको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

३, प्राय सबै कोरोनाबिरुद्धका भ्याक्सिन दुई डोज लगाउनुपर्ने भएतापनि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एकडोजमात्र लगाए पुग्छ । भ्याक्सिन लगाएको १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ भने २८ दिनपछि पूर्ण संरक्षण प्राप्त हुन्छ । यो अमेरिकामा प्रयोगको स्वीकृति पाएको तेश्रो भ्याक्सिन हो भने यो भ्याक्सिन अमेरिकामा झण्डै १२ मिलियनले लगाएका छन् ।

४, यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन अनुमति छ । यद्यपी ५० बर्षभन्दा कम उमेरका महिलालाई यो भ्याक्सिन लगाउँदा भने सावधान हुन चेतावनी दिइएको छ । भ्याक्सिन लगाएपछि कम प्लेटलेस र रगत जम्नसक्ने दुर्लभ जोखिमका कारण ५० बर्षभन्दा कम उमेरका महिलाले यो भ्याक्सिन लगाउँदा विचार गर्न भनिएको छ । भ्याक्सिन कोरोना संक्रमणबिरुद्ध सुरक्षित र प्रभावकारी रहेको तथा जोखिमको तुलनामा फाइदा धेरै भएकाले जोखिमलाई फाइदाले जितेको अमेरिकाको एफडीए र सीडीसीको निष्कर्ष छ ।

५, जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले डेल्टा भेरियन्टबिरुद्ध बलियो संरक्षण प्रदान गर्ने अध्ययनले देखाएको छ । नेपालमा डेल्टा भेरियन्टको प्रभाव रहेको अवस्थामा यो भ्याक्सिन नेपालका लागि बढी उपयोगी सावित हुनेछ ।

 

चाइनिज भ्याक्सिन भेरोसेलबारे जान्नैपर्ने कुरा

१, भेरोसेल सिनोफार्म समुह अन्तरगतको चिनियाँ भ्याक्सिन हो । यो भ्याक्सिन १८ बर्षभन्दा माथिकाहरुलाई लगाउन अनुमति दिइएको छ । मे ६ मा विश्व स्वास्थ्य संगठनले यो भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको हो ।

२, गर्भवती महिलाहरुमा भ्याक्सिनको प्रभावकारिता वा जोखिमबारे प्रयाप्त तथ्यांक अहिलेसम्म उपलब्ध छैन । तर यो भ्याक्सिन अन्य कैयन भ्याक्सिनमा नियमित प्रयोग हुने प्रणालीबाट बनाइएको र त्यसको प्रोफाइल गर्भवती महिलाहरु लगायतका लागि समेत सुरक्षित भएकाले गर्भवती महिलाले यो भ्याक्सिन गर्भवती महिलाहरुमा पनि प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ । विश्व स्वास्थ्य संगठनले पनि अन्तरिम रुपमा यो भ्याक्सिन गर्भवती महिलाहरुलाई पनि लगाउन सिफारिस गरेको छ । जोखिमको तुलनामा गर्भवती महिलालाई भ्याक्सिन लगाउँदा फाइदा धेरै हुने विश्व स्वास्थ्य संगठनको निष्कर्ष रहेको छ । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन लगाउनु अगाडि गर्भवती भए नभएको परीक्षण गर्न भने सिफारिस गरेको छैन ।

३, विगतमा कोरोना संक्रमण भएकाले पनि यो भ्याक्सिन लगाउन सक्छन् । सामान्यतया कोरोना संक्रमणभएको ६ महिनाभित्र अर्को पटक संक्रमण हुने अवस्था असाधारण भएकाले संक्रमण भएको ६ महिनापछिमात्र भ्याक्सिन लगाउँदा उपयुक्त हुने सुझाव छ । तर जहाँ कोरोनाका नयाँ प्रकारहरु फैलिरहेका छन्, त्यहाँ भने ६ महिना नकुर्न सुझाव दिइएको छ ।

४, यो भ्याक्सिनको प्रभावकारिता अन्य बयस्क महिलाहरुजस्तै स्तनपान गराउने महिलाहरुमा पनि उस्तै हुने अपेक्षा गरिएको छ । विश्व स्वास्थ्य संगठनले अन्य महिलाहरुजस्तै स्तनपान गराउने महिलालाई पनि भ्याक्सिन लगाउन सिफारिस गरेको छ । भ्याक्सिन लगाएपनि स्तनपान रोक्न विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छैन ।

५, एचआईभी संक्रमितहरु कोरोनाबाट सिकिस्त हुने उच्च जोखिममा हुन्छन् । एचआईभी संक्रमितहरु परीक्षणमा सहभागी नभएपनि यो भ्याक्सिन एचआईभी संक्रमितहरुलाई प्राथमिकताका साथ दिन सिफारिस गरिएको छ ।

६, विगतमा खानेकुरा, भ्याक्सिन वा अन्य कुनै पनि प्रकारको एलर्जीको इतिहास भएकाहरुले यो भ्याक्सिन लगाउनु हुँदैन । ३८ दशमलव ५ डिग्री सेल्सियस भन्दा धेरै शरीरको तापक्रम भएकाहरुलाई पनि तत्काल यो भ्याक्सिन नलगाउन सुझाव दिइएको छ । उनीहरुले ज्वरो निको भएपछि भने भ्याक्सिन लगाउन सक्नेछन् ।

७, यो भ्याक्सिन दुईडोज लगाउनुपर्छ । हरेक डोज शुन्य दशमलव ५ मिलिलिटरको हुन्छ । पहिलो डोज लगाएको तीनदेखि चार हप्ताभित्र दोश्रो डोज लगाउन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । यदि कसैले पहिलो डोज लगाएको तीनसाता अगाडि नै दोश्रो डोज लगाएको छ भने पनि दोहोराएर लगाउनु नपर्ने विश्व स्वास्थ्य संगठनको भनाई छ । चारहप्ता भन्दा ढिलो भएमा पनि यथाशीघ्र लगाउन सुझाव दिइएको छ । तर सबैलाई दुई डोज लगाउन सिफारिस गरिएको छ ।

८, १८ बर्षदेखि ६० बर्षसम्मका व्यक्तिलाई यो भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको तथ्यांक रहेको छ । ६० बर्षमाथिका व्यक्ति परीक्षणमा कममात्र सहभागी भएकाले प्रयाप्त तथ्यांक छैन । तर कम उमेरका र बढी उमेरकाहरुमा सुरक्षाको अवस्थाबारे कुनै फरक नभएकाले यो भ्याक्सिन ६० बर्षमाथिकाहरुलाई पनि दिइएको छ । ६० बर्षमाथिकाहरुलाई भ्याक्सिन दिएका मुलुकहरुलाई उनीहरुको सुरक्षा अवस्थाको सकृय निगरानी राख्न सुझाव दिइएको छ ।

९, यो भ्याक्सिन २१ दिनको अन्तरालमा २ डोज लगाउँदा ७९ प्रतिशत प्रभावकारी देखिएको छ । दोश्रो डोज लगाएको १४ दिनपछि लक्षणसहितको संक्रमण रोक्न यो ७९ प्रतिशत प्रभावकारी देखिएको हो । त्यस्तै अस्पताल भर्ना हुनेगरी सिकिस्त हुनबाट रोक्न पनि ७९ प्रतिशत प्रभावकारी रहेको छ ।

 

 

 

 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।