अमेरिकन एयरलाइन्सको उडेको विमानमा ढोका खोल्न खोज्ने महिलालाई टेप लगाएर सिटमा चप्काइयो
प्रकाशित मिति : असार २७, २०७८ आईतबार
अमेरिकन एयरलाइन्सको उडेको विमानमा ढोका खोल्न खोज्ने महिलालाई टेप लगाएर उनकै सिटमा चप्काइएको छ । ती महिलाले मध्य उडानमा विमानका कर्मचारीहरुलाई झम्टनुका साथै विमानको ढोका खोल्ने प्रयास गरेको जनाइएको छ ।
यो घटना मंगलबार टेक्सासबाट नर्थ क्रोलिना जाँदै गरेको अमेरिकन एयरलाइन्सको उडान १७७४ मा भएको हो । टिकटकमा राखिएको भिडियोमा फस्र्ट क्लासको सिटमा महिलालाई डकटेप लगाएर चप्काइएको छ । ती महिलाको मुखमा समेत टेप लगाइएको छ । विमान अवतरण भइसकेपछि यात्रुहरुलाई ती महिलाले गाली गलौज गर्न लागेपछि मुखमा टेप लगाइएको थियो ।
२ घण्टाको उडानमा विमान उडेको १ घण्टापछि हल्लाखल्ला सुरु भएको थियो । विमानका कर्मचारीहरु अचानक जम्मा भएर खासखुस गर्नुका साथै सिटको माथीका झोलाहरु समातेका थिए भने बाथरुममा ढोकाहरु समेत बन्द गरिएको थियो । तर के भइरहेको हो भन्नेबारे सुरुमा बताइएको थिएन । एकैछिन भाँडभैलोको अवस्था देखिएको थियो ।

पछि विमानमा खराब अवस्था आएको भन्दै इन्टरकमबाट घोषणा गरेका थिए । उनले सबैलाई शान्त रहन समेत आग्रह गरेका थिए । तर पछि विमान अवतरण भइसकेपछि ती महिलाको मानसिक अवस्थामा समस्याका कारण उनी उडिरहेको विमानबाट बाहिर निस्कन खोजेको बताइएको छ ।
ती महिलाले आफू विमानबाट बाहिर निस्कन चाहेको बताउँदै विमानको ढोका खोल्न खोजेकी थिइन् । मलाई बाहिर जान देउ भन्दै उनले ढोकामा पटकपटक हिर्काएकी थिइन् । ती महिलाले विमानका कर्मचारीहरुलाई थुक्ने, टोक्ने, कोपर्ने जस्ता गतिविधि गरेको जनाइएको छ ।
विमान अवतरण पछि ती महिलालाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । अमेरिकन एयरलाइन्सले उडान र अन्य यात्रुको संरक्षणका लागि कर्मचारीहरुले चालेको कदमको प्रशंसा गरेको छ । तर कतिपयले यो घटनालाई सम्हाल्ने तरिका यो भन्दा उपयुक्त हुनसक्ने समेत बताएका छन् ।





