२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

के अमेरिकाले नेपाल पठाएको जोन्सन एण्ड जोन्सन भ्याक्सिन अमेरिकामा लगाउन रोक छ ?

अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन १५ लाख डोज पठाएको छ । के अमेरिकाले आफ्नो देशमा वितरणमा रोक लगाएको भ्याक्सिन नेपाल पठाएको हो ? यसबारे कैयन जिज्ञासाहरु उत्पन्न भएका छन् ।

अमेरिकामा अहिले कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरणमा रोक लगाइएको छैन । यो अमेरिकामा प्रयोगको स्वीकृति पाएको तेश्रो भ्याक्सिन हो भने यो भ्याक्सिन अमेरिकामा झण्डै १२ मिलियनले लगाएका छन् । अमेरिकामा आष्ट्राजेनेका भ्याक्सिन पनि भण्डारणमा रहेको छ तर यो अमेरिकामा स्वीकृत नभइसकेकाले अमेरिकाले अहिले स्वीकृत भ्याक्सिनहरु विभिन्न देशलाई सहायताका लागि पठाएको हो ।

अमेरिकामा गत अप्रिलमा यो भ्याक्सिन वितरणमा अप्रिल १३ देखि १० दिनसम्म रोक लगाइएको थियो । तर अप्रिल २३ मा उक्त रोक हटाइएको थियो । त्यसपछि पनि अमेरिकामा झण्डै ५ मिलियनले यो भ्याक्सिन लगाइसकेका छन् । अहिलेसम्म अमेरिकामा यो भ्याक्सिन लगाउनेहरुको संख्या १ करोड २५ लाख ८७ हजार ८ सय ५० रहेको छ ।

सम्भावित दुर्लभ प्रकारको रगतका थोपा जम्ने समस्या देखिएको हुनसक्ने भन्दै यो भ्याक्सिन १० दिन वितरणमा स्थगन गरिएको थियो । झण्डै ८ मिलियनले भ्याक्सिन लगाउँदा १५ जनामा यस्तो समस्या देखिएको थियो । ५० बर्षभन्दा कम उमेरका महिलामा यस्तो समस्या देखिएको थियो । जसमध्ये ३ जनाको मृत्यु भएको थियो भने सातजना अस्पतालमा भर्ना भएका थिए ।

तर भ्याक्सिन कोरोना संक्रमणबिरुद्ध सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकाल्दै अमेरिकाको एफडीए र सीडीसीले भ्याक्सिन वितरण सुचारु गर्ने निष्कर्ष निकालेको थियो । सम्भावित जोखिमको तुलनामा फाइदा नै धेरै रहेको र फाइदाले जितेको भन्दै भ्याक्सिन वितरण सुचारु गरिएको हो । यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन अनुमति छ ।

५० बर्षभन्दा कम उमेरका महिलालाई चेतावनी

यद्यपी ५० बर्षभन्दा कम उमेरका महिलालाई यो भ्याक्सिन लगाउँदा भने सावधान हुन चेतावनी दिइएको छ । भ्याक्सिन लगाएपछि कम प्लेटलेस र रगत जम्नसक्ने दुर्लभ जोखिमका कारण ५० बर्षभन्दा कम उमेरका महिलाले यो भ्याक्सिन लगाउँदा विचार गर्न भनिएको छ ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले डेल्टा भेरियन्टबिरुद्ध बलियो संरक्षण प्रदान गर्ने अध्ययनले देखाएको छ । नेपालमा डेल्टा भेरियन्टको प्रभाव रहेको अवस्थामा यो भ्याक्सिन नेपालका लागि बढी उपयोगी सावित हुनेछ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

एकडोज लगाए पुग्ने

कोरोनाबिरुद्धका प्राय सबै भ्याक्सिनहरु दुई डोज लगाउन आवश्यक छ । कतिपय भ्याक्सिन त तेश्रो डोज लगाउन समेत सुरु गरिएको छ । तर जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एक डोज लगाए पुग्छ ।

एक डोज लगाएपछि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ ।

जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । मोडेर्ना र फाइजरको तुलनामा जोन्सन एण्ड जोन्सनका साइड इफेक्ट पनि कम छन् ।

नेपालमा भण्डारण सहज

अमेरिकामा स्वीकृत तीन भ्याक्सिनमध्ये मोडेर्ना र फाइजर भ्याक्सिन नेपालमा भण्डारण गर्न नसकिने अवस्था रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले खसोखासलाई बताएका थिए । ती भ्याकिसनहरु अत्यन्तै चिसो तापक्रममा राख्नुपर्ने भएकाले भण्डारणमा समस्या भएको हो । तर जोन्सन एण्ड जोन्सनको भ्याक्सिन नेपालमा भण्डारण र वितरणमा सहज रहेको छ ।

यो भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन ।

नेपालमा माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न सकिने कुनै व्यवस्था नभएको अवस्थामा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भने नेपालको लागि भण्डारण र वितरणमा सहज रहेको हो ।

हालसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको भेरोसेल नामक खोप मात्रै लगाइएको छ । यी दुबै खोज दुईदुई डोज लगाउनुपर्छ ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।