ट्रम्पका वकिल रुडी जुलियानीको वासिंटन डिसीको लाइसेन्स पनि खारेज
प्रकाशित मिति : असार २३, २०७८ बुधबार
राष्ट्रपति चुनावको परिणाम उल्टाउन लागिपरेका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी जुलियानीको वासिंटन डिसीमा वकिल रुपमा काम गर्न पाउने लाइसेन्स पनि खारेज भएको छ । वासिंटन डिसीको अदालतले बुधबार उनको लाइसेन्स खारेज गरिदिएको हो । अब उनले वासिंटन डिसीमा वकिलमा रुपमा काम गर्न पाउनेछैनन् ।
यसअगाडि गत महिना उनको न्युयोर्कको वकिलको लाइसेन्स खारेज गरिएको छ । उनलाई न्युयोर्क राज्यमा वकिलका रुपमा अभ्यास गर्नमा रोक लागेको थियो ।

अदालतसमक्ष गलत बयानहरु दिएको र गलत अभ्यास गरेका कारण उनी वकिलका रुपमा अभ्यास गर्न योग्य नरहेको अदालतले ठहर गरेको थियो । उनले सन् २०२० को राष्ट्रपति चुनावको परिणाम उल्टाउनका लागि ट्रम्पको असफल प्रयासको अभियानमा साथ दिएको लगायतका सन्दर्भ उल्लेख गर्दै ३३ पृष्ठ लामो निर्णय अदालतले सार्वजनिक गरेको थियो ।
अदालतको अनुशासन समितिले आफ्नो निष्कर्षमा सार्वजनिक रुचीमा तत्काल जोखिमपूर्ण रहेको र कानूनको अभ्यास गर्नबाट अन्तरिम रोक लगाउने निर्णय गरिएको उल्लेख थियो । सेवानिबृत्त न्यायाधिसहरु जोन लेभेन्थल र ब्यारी कामिन्सले जुलियानीका लागि प्रतिरक्षा गरेका थिए थिए ।
रुडी जुलियानी साउदर्न डिस्ट्रिक्ट अफ न्युयोर्कको युएस एटोर्नी अफिसबाट अनुसन्धानमा रहेका छन् । उनका नाममा जारी सर्च वारेन्टका कारण गत अप्रिलमा उनको घर र कार्यालयबाट १८ वटा विद्युतीय उपकरणहरु कब्जा गरिएको थियो । ट्रम्पको युक्रेनसँगको डिलमा उनको स्थीतिबारे अनुसन्धान भइरहेको हो ।





