फ्लोरिडामा भत्किएको भवनबाट अहिलेसम्म निकालियो ४६ शव, ९४ अझै बेपत्ता
प्रकाशित मिति : असार २३, २०७८ बुधबार
झण्डै दुईसाता अगाडि जुन २४ मा अमेरिकाको फ्लोरिडा सर्फसाइडमा भवन भत्किदा पुरिएर ज्यान गुमानेहरुको संख्या ४६ पुगेको छ । बुधबार थप १० वटा मृत शरीर भग्नावशेषाट निकालिएपछि पुष्टी भएका मृतकको संख्या बढेको हो ।

अझै पनि ९४ जना बेपत्ता रहेका छन् । मृतक ४६ जनामध्ये ३२ जनाको पहिचान गरेर परिवारलाई सुचित गरिएको छ । एकमिनेटभन्दा कम अवधिमा आवासीय भवन भग्नावशेषमा परिणत भएपछि त्यहाँबाट उद्दारकर्ताहरुले जीवितै कसैको पनि उद्दार गर्न सकेका छैनन् ।
बिहिबार भवन ध्वस्त भएको २ साता पूरा हुँदैछ । तर पनि उद्दारकर्मीहरु भग्नावशेष खोतल्नमा व्यस्त रहेका छन् । अब कसैको पनि जीवित उद्दार हुने आशा छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत साता उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

राष्ट्रपति जो बाइडेनले त्यहाँ संकटकाल घोषणालाई स्वीकृत गरेका थिए । जसले गर्दा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र संघीय आपतकालिन व्यवस्थापन एजेन्सीलाई सहायता उपलब्ध गराउनका लागि बाटो खुलेको थियो ।
मौषम पनि बेलाबेलामा खराब भएकाले शवहरु निकाल्नमा समस्या भइरहेको छ । उक्त क्षेत्रमा हुरिबतास र बर्षाका कारण समस्या भएको जनाइएको छ । यद्यपी उद्दार टोलीले घटनास्थलबाट १२४ टन भग्नावशेष हटाइसकेको छ ।





