फोर्थ जुलाई सप्ताहन्तमा अमेरिकाभर ४ सय बढी गोलीकाण्डमा कम्तीमा १५० जनाको मृत्यु
प्रकाशित मिति : असार २२, २०७८ मंगलबार
अमेरिकाको स्वतन्त्रता दिवसको सप्ताहन्तभर अमेरिकाभर कम्तीमा ४ सय बढी गोलीकाण्डका घटनाहरु भएका छन् । जसमा १५० जना भन्दा बढीको मृत्यु भएको छ भने कैयन घाइते भएका छन् । यो शुक्रबारदेखि आइतबारसम्म ७२ घण्टाको अवधिमा अमेरिकाभर भएका गोलीकाण्डका घटनाको विवरण हो ।

न्युयोर्क सिटीमा पछिल्लो समयमा गोलीकाण्डका घटनामा बृद्धि भएको छ । शुक्रबारदेखि आइतबारसम्मका २१ घटनामा २६ जना शिकार भएका छन् । यद्यपी यो संख्या गतबर्षको यही अवधिको तुलनामा भने केही कम हो । गतबर्ष यही अवधिमा २५ घटनामा ३० जना गोलीकाण्डका शिकार भएका न्युयोर्क प्रहरीले जनाएको छ ।

जुलाई ४ मामात्र न्युयोर्क सिटीमा गोलीकाण्डका १२ घटनामा १३ जना शिकार भए । गत बर्ष जुलाई ४ मा ८ वटा गोलीकाण्डका घटनामा ८ जना व्यक्ति गोलीको शिकार भए । अहिलेसम्म सन् २०२० को तुलनामा न्युयोर्कमा गोलीकाण्डका घटनामा ४० प्रतिशत बृद्धि भएको छ । यो बर्षमा अहिलेसम्म ७६७ घटनामा ८८५ जना गोलीको शिकार भइसकेका छन् ।
शिकागोमा शुक्रबार बेलुका ६ बजेदेखि सोमबार विहान ६ बजेसम्मको अवधिमामात्र ८३ जनामाथि गोली प्रहार भयो । जसमध्ये कम्तीमा १४ जनाको मृत्यु भएको छ । शिकागो प्रहरीले यो सप्ताहन्तलाई बर्षकै सबैभन्दा चुनौतिपूर्ण सप्ताहन्त भनेको छ । मृतक १४ जनामध्ये एकजना इलिनोय आर्मी नेशनल गार्डका सदस्य समेत रहेका थिए । २ जना शिकागो प्रहरी अधिकारी घाइते भएका छन् ।
एटलान्टामा गल्फ खेलाडीको गोली लागेर मृत्यु भयो भने फोर्ट वर्थ टेक्सासमा आइतबार विहान भएको गोलीकाण्डमा ८ जना घाइते भए । भर्जिनियाको नर्फकमा शुक्रबार दिउसो ६ बर्षकी बालिकासहित ४ जना केटाकेटीहरुमाथि गोली हानियो । प्रहरीले गोली चलाउने १५ बर्षकालाई पक्राउ गरेको छ ।





