अमेरिका जानु अगाडि नै आप्रवासी भिसाको म्याद सकियो, अब के गर्ने ?


प्रकाशित मिति : असार २१, २०७८ सोमबार

अमेरिका जानु अगाडि नै आप्रवासी भिसाको म्याद सकिएको खण्डमा तपाईले यथाशीघ्र अमेरिकी दूतावास वा कन्सुलेटको आप्रवासी भिसा युनिटमा सम्पर्क गर्नुपर्छ । तपाईले समयमै सम्पर्क गरेको खण्डमा युएससीआईएसमा नयाँ आवेदनको प्रकृया सुरु गर्नुपर्दैन ।

सामान्यतया अमेरिकाको आप्रवासी भिसा ६ महिनाको लागि जारी गरिन्छ । अर्थात् कुनै पनि व्यक्ति अमेरिकाको ग्रिनकार्ड पाउने गरी आप्रवासी भिसा पाएको ६ महिनाभित्र अमेरिकाभित्र आइसक्नुपर्छ ।

कोरोनाको महामारी वा आफ्नो काबु बाहिरको अन्य अवस्थामा समेत ६ महिनाभित्र अमेरिका नसकेकाहरुलाई अमेरिकी दूतावासले नयाँ भिसा स्टीकर समेत जारी गरेको थियो ।

काबु बाहिरको अवस्थामा भिसा छँदै अमेरिका आउन नसकेको अवस्थामा दूतावासको आप्रवासी भिसा युनिटमा भिसा छँदै अमेरिका जान नसक्नुको कारणसहित कभरलेटर लेखेर भिसा फर्काउनुपर्छ । त्यसपछि कन्सुलर अफिसरले पुनरावलोकन गरेर तपाईको काबु बाहिरको अवस्थाका कारण ६ महिनाभित्र अमेरिका जान नसकेको निष्कर्ष निकालेमा तपाईका लागि नयाँ भिसा स्टीकर जारी गर्छ ।

कन्सुलर अधिकारीले तपाईको आवेदन आइसकेपछि थप कागजात के के आवश्यक पर्ने भन्नेबारे तपाईलाई जानकारी गराउनेछन् ।

तपाईले पुन डीएस २६० फर्म भरेर आप्रवासी भिसा शुल्क बुझाउनुपर्ने हुनसक्छ । त्यसका अतिरिक्त तपाईले नयाँ मेडिकल रिपोर्ट र पुलिस रिपोर्ट लगायतका कागजात बुझाउनुपर्ने हुनसक्छ । नयाँ भिसा जारी गर्दा आवेदकले पहिलेकै जस्तो योग्यता पुष्टी गर्नसक्नुपर्छ । साथै भिसा पाउने ग्यारेन्टी पनि हुँदैन ।

६ महिनाको आप्रवासी भिसा अन्तरगत आप्रवासी ६ महिनाभित्र अमेरिका प्रवेश गरेमा उसलाई आवासीय स्टाटसमा अमेरिकामा प्रवेश दिइन्छ । तर ६ महिनाको अवधिमा आउन नसकेकाहरुका हकमा उसले अमेरिकाको आगमन त्यागेको अमेरिकी अध्यागमनले निष्कर्ष निकाल्छ । त्यसैले यदि ६ महिनाको आप्रवासी भिसा सकिन लागेको छ वा सकिएको छ भने तर तपाई अमेरिका आउन सक्नुभएन भने अमेरिकी दूतावासमा सम्पर्क गर्नुपर्छ ।

यदि ६ महिनाभित्रमा अमेरिका आउन नसकेमा र यसको जानकारी अमेरिकी दूतावासलाई नगराएमा भिसा रद्द हुन्छ । फेरी अमेरिका आउनका लागि सुरुदेखि नयाँ प्रकृया गर्नुपर्ने हुनसक्छ । डिभी र रोजगारमा आधारित भिसा छ भने अझ समस्या हुन्छ । तर परिवारमा आधारित भिसा छ भनेपनि नयाँ भिसाका लागि प्रकृया गर्नुपर्ने हुन्छ ।

नोट : यो विवरण अमेरिकी विदेशमन्त्रालयको जानकारीमा आधारित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com