मानव तस्करीबारे अमेरिकी विदेशमन्त्रालयको रिपोर्ट : नेपाल यो बर्षपनि दोश्रो श्रेणीमा
प्रकाशित मिति : असार १७, २०७८ बिहीबार
अमेरिकी सरकारको विदेश मन्त्रालयले आज मानव तस्करीबारे एक रिपोर्ट सार्वजनिक गर्दै नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्यूनतम मापदण्ड पूरा गर्न नसकेको तर त्यसका लागि महत्वपूर्ण प्रयास गरेको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले आज विश्वब्यापी मानव तस्करीबारे ६४४ पृष्ठ लामो रिपोर्ट सार्वजनिक गरेका हुन् ।
कोरोना महामारीका कारण तस्करीबिरुद्धको सरकारी क्षमतामा प्रभाव परेपनि विगतका बर्षहरुका तुलनामा नेपालको सरकारले मानव तस्करीबिरुद्ध प्रयासहरु बढाएकाले नेपाललाई यो बर्ष पनि दोश्रो श्रेणीमा नै राखिएको रिपोर्टमा उल्लेख छ । विगत १३ बर्षदेखि नै अमेरिकाले नेपाललाई मानव तस्करीका सन्दर्भमा दोश्रो श्रेणीमा मा राख्दै आएको छ ।
विदेशमा कामदार भर्तीसम्बन्धि भ्रष्टाचारमा दुईजना पूर्व सरकारी अधिकारीहरुलाई दोषी ठहर गर्नुका साथै विदेशमा महिला आप्रवासनका सन्दर्भमा लगाइएका केही प्रतिबन्धहरु हटाउने र मानव तस्करीबिरुद्ध जनचेतना जगाउने काममा निरन्तरता दिएको लगायतका प्रयासका कारण नेपाललाई दोश्रो श्रेणीमा नै कायम राखिएको रिपोर्टमा जनाइएको हो ।

नेपालबारेको रिपोर्टको पूर्ण पाठ यहाँ पढ्नुहोला ।
मानव तस्करीको रोकथामका लागि सरकारले सम्पूर्ण पहलहरु र नियमहरु पालना गरेको खण्डमा अमेरिकाले त्यस्ता देशलाई पहिलो श्रेणीमा राख्दै आएको छ । सरकारले पूर्णरुपमा मानवतस्करीको रोकथामका लागि काम गर्न नसकेको तर उल्लेख्य पहल गरेको खण्डमा दोश्रो श्रेणीमा राख्ने गरिएको छ । तर थप कमजोर रहेको अवस्थामा भने दोश्रो श्रेणीको वाचलिष्टमा राख्ने गरिएको छ । सरकारले मानवतस्करीको रोकथामका लागि उल्लेख्य पहल नगरेको खण्डमा तेश्रो श्रेणीमा राख्ने गरिएको छ ।

मानव तस्करी रोक्ने कानून कार्यान्यन निकायमा थप कर्मचारीहरु भर्ना गरेको तर नेपालको सरकारले केही मुख्य क्षेत्रमा भने न्यूनतम मापदण्ड पूरा गर्न नसकेको रिपोर्टमा उल्लेख गरिएको छ । नेपाल सरकारको कानुनले सबै प्रकारका मानव तस्करी र यौन तस्करीलाई अपराधिकरण गर्न नसकेको विषयलाई नकारात्मक तत्वका रुपमा लिइएको छ ।
सरकारी अधिकारीहरुले विदेशमा मानव तस्करीको शिकार भएका मामलालाई प्रहरी र आपराधिक अनुसन्धानका लागि पठाउनुपर्नेमा सन् २००७ को वैदेशिक रोजगार ऐन अन्तरगत नै दर्ता गर्न प्रोत्साहित गर्दै आएको विषयलाई पनि कमजोरीका रुपमा रिपोर्टमा समावेश गरिएको छ ।
सबै प्रकारका यौन तस्करी र श्रम तस्करीलाई अपराधिकरण गर्नका लागि नेपालको मानवतस्करी तथा ओसारपसारबिरुद्धको ऐनमा सुधार गर्न, तस्करीका अपराधको छानविन गर्न र कारवाही गर्न लगायत दर्जन बढी सुझावहरु रिपोर्टमा दिइएको छ ।





