अमेरिकाको पासपोर्ट र विदेशमा जन्मनेको कन्सुलर रिपोर्टमा लैंगिक तटस्थताको प्रकृया सुरु
प्रकाशित मिति : असार १६, २०७८ बुधबार
अमेरिकी पासपोर्ट
निकट भविश्यमा नै अमेरिकन पासपोर्टमा आफूलाई महिला वा पुरुषका रुपमा चिनाउन नचाहनेहरुले लिंगको स्थानमा महिला र पुरुषको साटो आफ्नो लिंग चिनाउने संकेत प्रयोग गर्न सक्ने भएका छन् । लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुका लागि संकेत चिन्ह थप्नका लागि काम सुरुवात गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले बताएका छन् ।
सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका अमेरिकन नागरिक व्यक्तिका लागि उचित व्यवहार सुनिश्चित गर्नका लागि थप कदम चालिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुका लागि संकेत चिन्ह प्रदान गर्ने लक्ष्यसहित अमेरिकी पासपोर्ट र विदेशमा जन्मने अमेरिकी नागरिकलाई जारी गरिने कन्सुलर रिपोर्टमा अपडेटको प्रकृया सुरु भइसकेको अमेरिकी विदेश मन्त्रालयको भनाई छ ।

पासपोर्ट र कन्सुलर रिपोर्टमा लैंगिक चिन्हहरु थप्ने प्रकृया जटिल भएको र आईटी प्रणालीमा बृहत अपडेटका लागि केही समय लाग्ने स्पष्ट पारिएको छ । पासपोर्ट र कन्सुलर रिपोर्टमा लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुका लागि संकेत चिन्ह कहिलेदेखि प्रदान गर्नेभन्नेबारे मिति अहिलेनै प्रदान गर्न नसकिएपनि यसबारे विदेशमन्त्रालयको वेवसाइटमा अपडेट गरिने भएको छ ।
अहिले नै लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुले फरक संकेत चिन्हसहित पासपोर्टका लागि आवेदन दिनभने सक्नेछैनन् । त्यसका लागि केही समक्ष प्रतिक्षा गर्नुपर्नेछ ।
यदि परिचयपत्रहरु वा अमेरिकी नागरिकताको प्रमाणपत्रमा भएको लिंगभन्दा फरक लिंग उल्लेख गरेर अमेरिकी पासपोर्ट प्राप्त गर्न चाहेको खण्डमा पनि मेडिकल प्रमाणपत्र आवश्यक नपर्ने व्यवस्था गरिने भएको छ । उनीहरुले पासपोर्ट आवेदन दिंदा आफूले चाहेको लिंग विना कुनै झन्झट छनौट गर्न सक्ने भएका छन् ।





