न्युयोर्क मेयर डेमोक्रेटिक प्राइमरीमा कसैको पनि ५० प्रतिशत नआएपछि र्याङक च्वाइस भोट गणना गरिने
प्रकाशित मिति : असार १३, २०७८ आईतबार
न्युयोर्क सिटीको मेयरका लागि डेमोक्रेटिक प्राइमरीमा कुनै पनि उम्मेदबारले ५० प्रतिशत मत ल्याउन नसकेपछि र्याङक च्वाइस भोट गणना गरिने भएको छ । जसको नतिजा मंगलबार सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
अहिलेसम्मको मतगणना अनुशार एरिक आडम्स २ लाख ५३ हजार २ सय ३४ अर्थात् ३२ प्रतिशत मत ल्याएर सबैभन्दा अगाडि रहेका छन् । दोश्रोमा १ लाख ७७ हजार ७ सय २२ अर्थात् २२ प्रतिशत मत ल्याएर माया विले दोश्रोमा छिन् भने तेश्रोमा १ लाख ५५ हजार ८ सय १२ अर्थात् २० प्रतिशत मत ल्याएर क्याथरिन ग्रासिया तेश्रो नम्बरमा छिन् । अहिलेसम्म झण्डै ९६ प्रतिशत मतगणना भइसकेको छ ।
अहिलेसम्म डेमोक्रेटिक प्राइमरीमा खसेको ७ लाख ९९ हजार ८ सय २७ मत गणना भएको छ भने झण्डै १ लाख २३ हजार हुलाकबाट पठाएका मतपत्रहरु गणना गर्न बाँकी रहको छ । एरिक आडम्सले कुल मतमा अग्रता प्राप्त गरेपनि म्यानहटनमा भने तेश्रो स्थानमा रहेका छन् । म्यानहटनमा अझै झण्डै ३९ हजार मतपत्रहरु गणना गर्न बाँकी रहेको छ । तर एरिक आडम्सले दोश्रो स्थानका उम्मेदबारको तुलनामा झण्डै ७६ हजार भोटले अग्रता कायम गरेकाले म्यानहटनको भोटले अहिलेको पोजिशन बदल्ने सम्भावना निकै कम रहेको छ ।

र्याङक च्वाइस मतहरु गणना गर्दा पनि एरिक आडम्सलाई पछाडि पार्न माया विले र क्याथरिन ग्रासियालाई सहज देखिन्न । र्याङक च्वाइस मतगणना अन्तरगत सबैभन्दा कम मत ल्याउनेलाई हटाएर च्वाइसका आधारमा अन्य उम्मेदबारहरुले प्राप्त गरेको मत जोड्दै गइन्छ । उम्मेदबारले ५० प्रतिशत मत नल्याउँदासम्म कम मत ल्याउने उम्मेबार हटाउदै जाने र च्वाइसका आधारमा प्राप्त मत अन्य उम्मेदबारमा जोडिदै जाने क्रम जारी रहन्छ ।
जुन २९ हुलाकबाट मतपत्रहरु प्राप्त गर्ने अन्मित दिन हो । पहिलो चरणको र्यांक च्वाइस मतगणनाको रिपोर्ट पनि जुन २९ मा नै सार्वजनिक हुनेछ । त्यसपछि जुलाई ६ मा दोश्रो चरणको र्यांक च्वाइस मतगणनाको रिपोर्ट सार्वजनिक गरिनेछ । औपचारिक रुपमा अन्तिम परिणाम जुलाई ९ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ । तर त्यो अगाडि नै सबैभन्दा अगाडि रहेको उम्मेदबारले उल्लेख्य मतान्तर कायम गर्न सकेको खण्डमा विजयी उम्मेदबारको अनौपचारिक टुंगो लाग्नेछ ।
रिपब्लिकन प्राइमरीमा भने कुर्तिस सिल्वाले ६८ दशमलव ९ प्रतिशत मत ल्याएर विजय हासिल गरिसकेका छन् । उनले कुल ३६ हजार ८ सय ७२ मत ल्याएका हुन् । हुलाकबाट प्राप्त लगायतका केही मत गणना हुन बाँकी रहेपनि अब नतिजामा फेरबदल हुने सम्भावना भने छैन । कुर्तिस सिल्वाले अब नोभेम्बरमा हुने चुनावमा डेमोक्रेटिक प्राइमरीबाट निर्वाचित हुने उम्मेदबारसँग प्रतिस्पर्धा गर्नेछन् । यद्यपी डेमोक्रेटिक प्राइमरीबा निर्वाचित हुने उम्मेदबार नै न्युयोर्कको मेयर हुने पक्का भएकाले नोभेम्बरको चुनावको तुलनामा अहिलेको प्राइमरीलाई चासोका साथ हेरिएको छ ।





