रसियामा क्लीनिक जान अपरिचितको कारमा चढेपछि बेपत्ता अमेरिकी विद्यार्थी मृत फेला
प्रकाशित मिति : असार ६, २०७८ आईतबार
रसियामा मंगलबारदेखि बेपत्ता अमेरिकन विद्यार्थी मृत फेला परेकी छिन् । ३४ बर्षकी क्याथरिन सेरउ रसियामा अध्ययन गर्दै आएकी थिइन् ।
विगतमा समेत अपराधमा दोषी ठहरिएका एकजना ४० बर्षको व्यक्तिलाई प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेको छ । संदिग्ध व्यक्तिको नाम सार्वजनिक गरिएको छैन ।
ती अमेरिकन महिला मस्कोदेखि २५० माइल पूर्व भोल्गा रिभरमा रहेको एउटा सिटीबाट हराएकी थिइन् । उनी एकजना अपरिचित व्यक्तिसँग कारमा चढेको र त्यसपछि बेपत्ता भएको जनाइएको छ ।
त्यसपछि उनले आमालाई टेक्स्ट मेसेज गरेकी थिइन् -‘म एकजना अपरिचितसँग कारमा छु । आशा छ, म अपहरित हुन गइरहेको छैन ।’
मंगलबार उनले एउटा क्लीनिकमा पैसा तिर्न खोज्दा कार्ड नचलेपछि उनी हतारमा उक्त क्लीनिकतिर जान चाहेको उनकी आमाले जनाएकी छिन् । उनले क्लीनिकमा जानका लागि हतार भएका कारण उबरको प्रतिक्षा नगरी आइरहेको कारमा चढेको हुनसक्ने अनुमान गरिएको छ । जब उक्त व्यक्तिले क्लीनिकतिर नलगेर गाडी जंगलतिर लैजान लागेपछि उनले आत्तिएर आमालाई मेसेज पठाएको हुनसक्ने जनाइएको छ ।
उनको मृत शरीर शनिबार विहान फेला परेको थियो । त्यसको एकघण्टापछि प्रहरीले संदीग्धलाई पक्राउ गरेको थियो । मस्कोमा रहेको अमेरिकी दूतावासले स्थानीय अधिकारीहरुको अनुसन्धानलाई नजिकबाट नियालिरहेको र आवश्यक सहयोग उपलब्ध गराइरहेको बताएको छ ।
सेरउमा लावोचेभ्स्की युनिभर्सिटीमा सन् २०१९ देखि कानून विषयमा स्नातकोत्तरकी विद्यार्थी थिइन् । अमेरिकामा कानून अध्ययनका लागि आवेदन दिनु अगाडि उनले रसियन भाषा अध्ययन गर्न चाहन्थिन् । उनले अमेरिकामा अध्यागमन वकिल बन्न चाहन्थिन् ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट डिजाइनमा स्नातक र कला इतिहासमा स्नातकोत्तर गर्नु अगाडि उनले अमेरिकन मरिनमा समेत काम गरेकी थिइन् । त्यस दौरान उनले अफगानिस्तानको समेत भ्रमण गरेकी थिइन् ।





