शनिबारदेखि संघीय बेरोजगारी सुविधा कार्यक्रम अन्त्य गर्दै ८ राज्य, जुलाईसम्म २५ राज्यले अन्त्य गर्ने


प्रकाशित मिति : असार २, २०७८ बुधबार

अमेरिकाका विभिन्न ८ राज्यहरुले शनिबारदेखि संघीय बेरोजगारी सुविधा कार्यक्रम अन्त्य गर्ने भएका छन् । अलाबामा, आइदायो,
इन्डियाना, नेब्रास्का, न्यु ह्याम्पशायर, नर्थ डाकोटा, वेष्ट भर्जिनिया र वायोमिङले कोरोना महामारीका कारण प्रदान गरिएको बेरोजगारी सुविधा कार्यक्रम अन्त्य गर्न लागेका हुन् ।

लेबर डिपार्टमेन्टको तथ्यांक अनुशार शनिबारदेखि यी राज्यका झण्डै ४ लाख १७ हजारले बेरोजगारी विमाका अन्य सुविधाका साथै संघीय सरकारबाट प्रदान गरिदै आएको साप्ताहिक ३ सयको सुविधा समेत गुमाउने भएका छन् । इन्डियानाबासीहरुले संघीय बेरोजगारी सुविधा नियमित हुनुपर्ने माग गर्दै त्यहाँका गभर्नरबिरुद्ध मुद्दा समेत दायर गरेका छन् ।

अमेरिकामा २५ वटा राज्यहले सेप्टेम्बर ६ अगाडि नै संघीय बेरोजगारी सुविधाको अन्त्य गर्नेछन् । बेरोजगारी विमाका अतिरिक्त संघीय बेरोजगारी सुविधा सेप्टेम्बर ६ मा सकिने भएतापनि रिपब्लिकन राज्यहरुले त्यसभन्दा अगाडि नै उक्त सुविधा अन्त्य गर्ने भएका हुन् । जसका कारण झण्डै ४० लाख सुविधा लिनेहरु प्रभावित हुने भएका छन् ।

४ वटा राज्यहरु अलास्का, आयोवा, मिसिसिपी र मिजौरीले गत शनिबारदेखि नै संघीय बेरोजगारी सुविधा कार्यक्रम अन्त्य गरिसकेका छन् । जसबाट झण्डै २ लाख ९१ ह्जार व्यक्ति प्रभावित भएका थिए । अलास्काले संघीय बेरोजगारी विमा सुविधामात्र अन्त्य गरेको हो, राज्यको सुविधा भने कायम रहनेछ । बाँकी १३ राज्यहरुले जुलाईको मध्यसम्ममा संघीय बेरोजगारी सुविधाको अन्त्य गर्दैछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com