प्रदेश २ मा पनि कांग्रेस सरकारमा सहभागी, पायो ३ मन्त्रालय


प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)मा देखा परेका फुटको फाइदा नेपाली कांग्रेसले लिएको छ। कांग्रेसले कर्णालीबाट थालेको सत्तारोहण प्रदेश २ सम्म आइपुगेको छ।

कांग्रेस बुधबार राति प्रदेश २ सरकारमा सहभागी भएको हो । बुधबार भएको वार्तामा मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई ३ मन्त्री दिने सहमति गरेका थिए। जसअनुसार कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागी भएको छ। यादवले भौतिक पूर्वाधारमन्त्री पाएका छन्।

यस्तै, वीरेन्द्र सिंहले युवा तथा खेलकुद र ओमप्रकाश शर्मालाई ऊर्जा तथा खानेपानी मन्त्रालय दिइएको छ। उनीहरुले बुधबार राति नै मधेश भवनमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन्।

बुधबार नै माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने भनिएकोमा वार्ता सहमतिमा पुग्न सकेको थिएन। राउतले माओवादीलाई एक मन्त्रालय दिने भनेका छन् भने माओवादीले महत्वपूर्ण मन्त्रालयसहित २ मन्त्रालय माग गरेको छ।

कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय टुक्र्याएका छन्। यसअघि ६ मन्त्रालय रहेको प्रदेश २ मा मन्त्रालय टुक्र्याएर १० पुर्‍याइएको छ।
सत्तासमीकरण हेरफेर गर्न मुख्यमन्त्री राउतले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षबाट मन्त्री रहेका जितेन्द्र सोनल, राज्यमन्त्रीहरू डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका थिए।

यसअघि कर्णालीमा पनि कांग्रेस सरकारमा प्रवेश गरिसकेको छ। कर्णालीमा माओवादीसँग कांग्रेसले सत्तासाझेदारी गरेको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com