राष्ट्रपतिको ट्वीट हटाइदिएपछि नाइजेरियामा ट्वीटरलाई अनिश्चितकालिन प्रतिबन्ध
प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार
ट्वीटरले राष्ट्रपति मुहम्मदु बुहारीको ट्वीट हटाइदिएपछि नाइजेरियामा ट्वीटरलाई अनिश्चितकालिन प्रतिबन्ध लगाइएको छ । नाइजेरियाका संस्कृति तथा संचारमन्त्रीले एक वक्तब्य जारी गर्दै नाइजेरियामा ट्वीटरलाई प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् ।
ट्वीटरलाई प्रतिबन्ध लगाइएको वक्तव्य मन्त्रालयको ट्वीटर एकाउन्टमा नै ट्वीट गरिएको थियो । अमेरिकन सामाजिक सञ्जाल कम्पनीले आफ्नो प्लेटफर्मलाई नाइजेरियाको कर्पोरेट अस्थीत्वलाई नजरअन्दाज गर्ने गतिविधिलाई वढावा दिएको भन्दै सरकारले प्रतिबन्धको घोषणा गरेको हो ।
नाइजेरियाका राष्ट्रपतिले एउटा आक्रमक ट्वीट गरेका थिए । जुन ट्वीटलाई ट्वीटरले हटाइदिएको थियो । त्यसको दुईदिनपछि नाइजेरियाको सरकारले ट्वीटरमाथिको प्रतिबन्ध घोषणा गरेको हो । मंगलबारको ट्वीटमा राष्ट्रपतिले सामाजिक पूर्वाधारमा पटकपटक आक्रमणका लागि दोष लगाउँदै नाइजेरियाको दक्षिणपूर्वमा रहेका मानिसलाई तह लगाउने चेतावनी दिएका थिए ।

अहिले दुब्र्यबहार गरिरहेकाहरु नाइजेरियाको गृहयुद्धको दौरानमा भएको जीवनको क्षति र विनाशबारे बुझ्नका लागि केटाकेटी नै रहेको आफूहरुसँग ३० महिनासम्म युद्ध लडनेहरुलाई उनीहरुकै भाषामा सम्झाउने भन्दै राष्ट्रपति बुहारीले ट्वीट गरेका थिए ।
नाइजेरिया र बियाफ्रा युद्ध झण्डै २ बर्षसम्म चलेको थियो भने १० देखि ३० लाखको ज्यान गएको थियो । मारिनेहरु धेरैजसो नाइजेरियाको पूर्वी भागका इग्बो जनजातिहरु रहेका थिए । यो युद्ध सन् १९६७ देखि सन् १९७० सम्म भएको थियो ।
ठूलो संख्यामा नाइजेरियनहरुले राष्ट्रपतिको ट्वीटबारे ट्वीटरलाई रिपोर्ट गरेपछि ट्वीटरले उक्त ट्वीट हटाइदिएको थियो । संचारमन्त्रीले ट्वीटरको कदमको विरोध गर्दै ट्वीटरले दोहोरो मापदण्ड अपनाएको भन्दै आलोचना गरेका छन् ।





