ट्रम्पको एकाउन्टमा लगाएको प्रतिबन्ध सन् २०२३ को जनवरी ७ सम्म जारी रहने फेसबुकको घोषणा
प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्टमा लगाएको प्रतिबन्ध सन् २०२३ को जनवरी ७ सम्म जारी रहने फेसबुकले आज घोषणा गरेको छ । सन् २०२१ को जनवरी ७ देखि लागु हुनेगरी २ बर्षका लागि प्रतिबन्ध लगाउने निर्णय भएको र त्यसपछि पुनरावलोकन गरिने फेसबुकले जनाएको छ ।
In Response to Oversight Board, Trump Suspended for Two Years; Will Only Be Reinstated if Conditions Permit https://t.co/0n1pWwv9kM
— Facebook Newsroom (@fbnewsroom) June 4, 2021
सन् २०२३ को जनवरी ७ पछि फेसबुकले सार्वजनिक सुरक्षामा खतरा रहेको नरहेकोबारे पुनरावलोकन गरेर प्रतिबन्ध फुकुवा गर्ने नगर्ने निर्णय गर्नेछ । २ बर्षको अवधिमा ट्रम्पले फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न वा कुनै कुरा पोष्ट गर्न पाउनेछैनन् । सन् २०२३ पछि पनि सार्वजनिक सुरक्षामा जोखिम रहेको निष्कर्ष निकालेमा अवधि थप गरिने फेसबुकको भनाई छ ।

फेसबुकले ट्रम्पमाथिको प्रतिबन्धबारे हेर्नका लागि फेसबुकको स्वतन्त्र बोर्डलाई जिम्मा दिएको थियो । उक्त बोर्डले मे मा कम्पनीले ट्रम्पमाथि लगाएको प्रतिबन्धलाई जायज ठहर गरेको थियो । तर फेसबुकले यसबारे स्पष्ट नीति बनाउन आवश्यक रहेको बोर्डले ठहर गरेको थियो ।
ट्रम्पले हालै भिजिटर संख्या कम भएको भन्दै आफ्नो ब्लग पनि बन्द गरिसकेका छन् । उनलाई ट्वीटर, युट्युब लगायतले पनि प्रतिबन्ध लगाएका छन् । ट्वीटरले लगाएको प्रतिबन्ध कहिलेसम्म कायम रहने भन्ने स्पष्ट छैन । ट्वीटरले अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।





