युनाइटेड एयरलाइन्सबाट १५ सुपरसोनिक जेट अर्डर, न्युयोर्कबाट लण्डन साढे ३ घण्टामा
प्रकाशित मिति : जेष्ठ २०, २०७८ बिहीबार
युनाइटेड एयरलाइन्सले बुम एभियसनबाट १५ वटा सुपरसोनिक विमान अर्डर गरेको बिहिबार घोषणा गरेको छ । यी विमानबाट यात्रुहरुले विश्वको यात्रा गर्दा अहिले लाग्ने समयको आधासमयमात्र लाग्ने तर मूल्य भने अहिलेको फस्ट क्लास टिकटसरह लाग्ने जनाइएको छ ।

यद्यपी अहिले नै टिकट किन्नका लागि हतार नगर्न सुझाव दिइएको छ । किनभने यी विमानहरु सन् २०२९ भन्दा अगाडि प्रयोगमा नआउने जनाइएको छ । यी विमानबाट यात्रा गर्दा न्युयोर्कबाट लण्डन साढे तीनघण्टामै पुगिनेछ भने सान फ्रान्सिस्कोबाट टोकियो ६ घण्टामा पुगिनेछ ।

तर त्यसका लागि ५ हजारदेखि ७ हजार डलर तिर्नुपर्नेछ ।

नयाँ विमानहरु कार्बन न्युट्रल हुनेछन् भने दिगो हवाई इन्धनको प्रयोग गर्नेछन् । अमेरिकामा कोरोनाको महामारीको कारण अरु एयरलाइन्स जस्तै युनाइटेड एयरलाइन्स पनि मारमा परेको छ । यो एयरलाइन्सले सरकारबाट साढे ३ बिलियन अनुदान र डेढ बिलियन ऋण प्राप्त गरेको छ ।
१५ वटा सुपरसोनिक विमानका लागि युनाइटेड एयरलाइन्सले ३ बिलियन तिर्नेछ । अरु ५० वटा विमान थप गर्ने विकल्प समेत कम्पनीलाई दिइने भएको छ ।





