चीनमा बर्डफ्लुको दुर्लभ प्रकार मान्छेमा संक्रमण भएको भेटियो, विश्वमै पहिलो
प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार
चीनमा बर्डफ्लुको दुर्लभ एच १० एन ३ प्रकार मान्छेमा संक्रमण भएको पुष्टी भएको छ । बेइजिङको राष्ट्रिय स्वास्थ्य आयोगका अनुशार चीनको पूर्वीय प्रान्त अन्तरगतको जियांग्सुमा ४१ बर्षको पुरुषमा उक्त बर्डफ्लुको संक्रमण पुष्टी भएको हो ।
चीनमा विभिन्न प्रकारका बर्डफ्लुहरु रहेका छन् भने केही प्रकारहरु मान्छेमा संक्रमण हुने गरेको जनाइएको छ । खासगरी कुखुरा फार्म वा मासु बिक्रिमा काम गर्नेहरुमा संक्रमण पाइएको जनाइएको छ । बर्ड फ्लुको एच १० एन ३ प्रकार मान्छेमा सजिलै फैलिने भने कुनै संकेत पाइएको छैन ।
चीनमा संक्रमित व्यक्ति अप्रिल २८ मा अस्पतालमा भर्ना भएको तर एकमहिनापछि अर्थात मे २८ मामात्र उसमा बर्डफ्लुको उक्त दुर्लभ प्रकार संक्रमण भएको पुष्टी भएको थियो । उक्त व्यक्तिमा कसरी संक्रमण भयो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

संक्रमितको स्वास्थ्य अवस्था अहिले स्थीर रहेको र डिस्चार्जको तयारी भइरहेको जनाइएको छ । उनको नजिकको सम्पर्कमा रहेका कसैमा पनि संक्रमण पाइएको छैन । साथै विश्वमा बर्ड फ्लुको प्रकार एच १० एन ३ अरु कुनै मान्छेमा भएको पाइएको छैन, यो नै पहिलो र एकमात्र केस हो ।
यो संक्रमण महामारीको रुपमा फैलिने खतरा नरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । विश्व स्वास्थ्य संगठनले पनि यो संक्रमण मान्छेबाट मान्छेमा फैलिने कुनै संकेत नभएको तथा स्थानीय जनसंख्यामा आपतकालिन निरिक्षणमा अन्य कुनै मामलाहरु फेला नपरेको जनाएको छ ।
सन् २०१६ देखि २०१७ सम्म बर्डफ्लुको एच ७ एन ९ संक्रमणबाट झण्डै ३ सय जनाको ज्यान गएको थियो । त्यसयता बर्डफ्लु मान्छेमा संक्रमण भएको उल्लेख्य विवरण छैन ।





