झण्डै सयबर्ष अगाडिको नरसंहारको गल्ती स्वीकार्दै जर्मनीले नामिबियालाई १.३ बिलियन डलर क्षतिपूर्ति दिने
प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार
झण्डै सयबर्ष अगाडिको नरसंहारको गल्ती स्वीकार्दै जर्मनीले नामिबियालाई १ दशलव ३ बिलियन डलर दिने भएको छ । जर्मनीले उपनिवेशकालमा नामिबियामा आदिवासीहरुको नरसंहार गरेको स्वीकार गर्दै त्यसका लागि माफी समेत मागेको छ ।
सन् १९०४ देखि सन् १९०८ सम्मको उपनिवेशकारी अभियानका क्रममा जर्मन सेनाहरुले नामिबियामा झण्डै ६५ हजार हेरेरो र झण्डै १० हजार नामा आदिवासीहरुको हत्या गरेका थिए । उपनिवेशवादीहरुले जग्गा कब्जा गरेपछि आदिवासीहरुले गरेको विद्रोहका क्रममा उनीहरु मारिएका थिए । राष्ट्रसंघले यसलाई २० औं शताब्दीको पहिलो नरसंहार बताएको थियो ।

जर्मनीले उक्त हत्याका लागि यसअगाडि नैतिक जिम्मेबारी स्वीकार गर्दै आएको थियो । तर क्षतिपूर्तिको दावीलाई वेवास्ता गर्दै आधिकारिक रुपमा नरसंहारका लागि भने माफीमाग्न इन्कार गर्दै आएको थियो । झण्डै ५ बर्ष लामो नामिबियासँगको वार्तापछि जर्मनी क्षतिपूर्ति दिन र माफी माग्न सहमत भएको हो ।
जर्मनीले प्रदान गर्ने १ दशमलव ३ बिलियन डलर नामिबियामा नरसंहारबाट प्रभावित समुदायका हितमा पुननिर्माण र विकाशका लागि खर्च गरिने जनाइएको छ । ३० बर्षसम्मका लागि उक्त रकम निर्माण, स्वास्थ्य र तालिम कार्यक्रमहरुमा खर्च गरिने नामिबियाका संचारमाध्यमहरुले जनाएका छन् ।
दोश्रो विश्वयुद्धपछि आफूले उपनिवेश बनाएका भूमिहरु गुमाएको जर्मनी त्यतीबेला ब्रिटेन र फ्रान्सपछिको तेश्रो उपनिवेशकारी शक्ति रहेको थियो । तर जर्मनीको उपनिवेशकारी इतिहासको वेवास्ता गरिएको थियो भने नाजी अपराध र होलोकस्टमा इतिहासकारहरु र राजनीतिज्ञहरुको ध्यान केन्द्रीत रहदै आएको थियो ।





