फिर्ता गर्नु नपर्ने १५ हजार डलर सरकारी सहायता थप विजनेशले पाउने, मापदण्ड खुकुलो पारिदै
प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार
अमेरिकामा इकोनोमिक इन्जुरी डिजास्टर लोन एड्भान्स अन्तरगत फिर्ता गर्नु नपर्ने १५ हजार डलरको सरकारी सहायता थप विजनेशले पाउने भएका छन् । एसबीएले मापदण्डहरु खुकुलो बनाउने योजना सार्वजनिक गरेपछि थप विजनेशहरु पनि योग्य हुने भएका छन् ।
एसबीएका उच्च अधिकारी इशाबेला गुजम्यानले सिनेटको सुनुवाई बोल्दै योग्यताका मापदण्डहरु खुकुलो गर्न लागिएको बताएकी हुन् । विगतमा सन् २०२० को डिसेम्बर २७ भन्दा अगाडि आवेदन दिएकाहरुमात्र १५ हजार डलरसम्मका लागि योग्य हुने भएपनि जुनको सुरुवातदेखि भने डिसेम्बर २७ को डेडलाइन हटाएर सबैले आवेदन दिन पाउनेगरी खुला गर्न लागिएको उनले बताइन् । तर विजनेशहरु कम आम्दानी भएको क्षेत्रमा हुनुपर्ने, कुनै क्वार्टरमा ३० प्रतिशतभन्दा बढी घाटा बेहोरेको हुनुपर्ने लगायतका मापदण्डहरु भने पूरा गरेको हुनुपर्नेछ ।
साना व्यवसाय प्रशासन एसबीएले सुरुमा १० हजार डलर उपलब्ध गराउने बताएपनि रकमको अभावमा कर्मचारी गणना गरेर एकजना कर्मचारीको एकहजार डलर पठाएको थियो । उदाहरणका लागि तीनजना कर्मचारीहरुले तीनहजार डलर प्राप्त गरेका थिए भने १० जनाभन्दा बढी कर्मचारी हुनेहरुले पनि १० हजार डलरसम्म प्राप्त गरेका थिए । जस अन्तरगत एसबीएले २० बिलियन डलर वितरण गरेको थियो ।

मार्चमा १० हजार डलरभन्दा कम सहायता पाएका योग्य विजनेशहरुलाई मार्चमा टार्गेटेड इकोनोमिक इन्जुरी डिजास्टर लोन एड्भान्स बाँकी रकम उपलब्ध गराउनका लागि आवेदन खुला गरिएको थियो । सभ्मावित योग्य विजनेशहरुलाईमात्र एसबीएले इमेलमार्फत सम्पर्क गरेको थियो । त्यसपछि ती विजनेशहरुलाई अप्रिलबाट फण्ड उपलब्ध गराउन सुरु गरिएका हो । यो कार्यक्रम अन्तरगत एसबीएले ८५५ मिलियन डलर सहायता उपलब्ध गराइसकेको छ । यो कार्यक्रमका लागि संसदबाट पारित प्याकेजले ५ बिलियन डलर थप गरेको थियो ।
उदाहरणका लागि पहिले ४ हजारमात्र पाएका विजनेशले बाँकी ६ हजार डलर समेत प्राप्त गरेका थिए । एकजनामात्र कर्मचारी रहेको विजनेश वा स्वरोजगारहरुलाई समेत १० हजार डलरसम्मको सहायता उपलब्ध गराइएको हो । महामारीपछि उल्लेख्य घाटा बेहोरेका विजनेशनहरुलाई रकम दिइएको छ ।
लगत्तै विजनेशहरुलाई थप ५ हजार डलरको सप्लीमेन्टल टार्गेटेड इकोनोमिक इन्जुरी डिजास्टर लोन एड्भान्स सहायता उपलब्ध गराउनका लागि एसबीएले कार्यक्रम सुरुवात गरेको थियो । यो कार्यक्रम अन्तरगत कुनै क्वार्टरमा ५० प्रतिशतभन्दा बढी घाटा बेहोरेका विजनेशलाई थप ५ हजार डलर उपलब्ध गराउन सुरु गरिएको छ । यो कार्यक्रम अन्तरगत अहिलेसम्म झण्डै १२ हजार विजनेशलाई ६० मिलियन डलर उपलब्ध गराइएको छ ।
अझै एसबीएसँग यो कार्यक्रम अन्तरगत वितरणका लागि झण्डै ४ बिलियन डलर बाँकी रहेको छ ।





