कोभिडको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट पेश गर्न खुफिया एजेन्सीहरुलाई बाइडेनको निर्देशन
प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार
कोभिड १९ को उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट पेश गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी खुफिया एजेन्सीहरुलाई निर्देशन दिएका छन् । कोरोनाको उत्पत्तिबारे पत्ता लगाउन प्रयासहरु दोब्बर पार्न बाइडेनले खुफिया एजेन्सीहरुलाई निर्देशन दिएका हुन् ।
कोरोना महामारीबारे विश्वजगतलाई थाहा हुनु केही महिना अगाडि नै सन् २०१९ को नोभेम्बरमा चीनको युहान इन्स्टीच्युट अफ भाइरोलोजी कैयन शोधकर्ताहरु सिकिस्त भएर अस्पताल भर्ना भएको खुलासा भएलगत्तै बाइडेनको यो निर्देशन आएको हो । अमेरिकाको खुफिया रिपोर्टमा यो पत्ता लागेपछि बाइडेनमाथि कोरोनाको उत्पत्तिबारे गहिरोगरी पत्ता लगाउन थप अनुसन्धानका लागि दवाव बढेको हो ।

गत मार्चमा पनि बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई कोरोनाको उत्पत्तिबारे अद्यावधिक रिपोर्ट र विश्लेषण पेश गर्न खुफिया एजेन्सीहरुलाई काम लगाउनका लागि निर्देशन दिएका थिए । भाइरसको संक्रमण जनावरबाट मान्छेमा फैलिएको हो वा ल्याबमा भएको दुर्घटनाबाट भाइरस फैलिएको हो भन्नेबारे सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका थिए ।
बाइडेनले यसबारेको रिपोर्ट प्राप्त गरिसकेको र थप फ्लो अपका लागि अहिले निर्देशन दिएको जानकारी दिएका छन् । खुफिया एजेन्सीले कोरोनाको उत्पत्तिबारे केही परीदृश्यहरु फेला पारेको तर निष्कर्षमा भने अझै नपुगेको बाइडेनले बताएका छन् ।
अमेरिकाले युहानको बजारबाट नभई चीनको ल्याबबाट दुर्घटनावश भाइरस फैलिएकोबारे अनुसन्धान गरिररहेको छ । चीनले भने भाइरस प्राकृतिक रुपमा नै फैलिएको दावी गर्दै आएको छ ।
कोरोना महामारीबाट विश्वभर ३५ लाखभन्दा धेरैको ज्यान गइसकेको छ भने झण्डै १७ करोडमा संक्रमण पुष्टी भएको छ । चीनमा ९१ हजारभन्दा बढी संक्रमणका केसहरु रिपोर्ट गरिएको छैन । तर नेपालमा भने ५ लाख ३५ हजारभन्दा धेरैमा संक्रमण पुष्टी भइसकेको छ ।





