न्युयोर्क राज्यमा अब मे २९ ‘नेपाली अमेरिकन हेरिटेज डे’, सांसद जेनिफरको प्रस्ताव संसदबाट स्वीकृत


प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार

न्युयोर्क राज्यभर मे २९ लाई अब नेपाली अमेरिकन हेरिटेज डे का रुपमा मनाइने भएको छ ।  राज्य संसदमा सांसद जेनिफर राजकुमारले स्पोन्सर गरेको रिज्योलुशन नम्बर ३३०  न्युयोर्कको राज्य संसदबाट आज मंगलबार स्वीकृत भएको हो । यो रिज्योलुशन हिजो सोमबार संसदको क्यालेण्डरमा चढाइएको थियो । उनले न्युयोर्क राज्य संसदमा डिस्ट्रिक्ट ३८ बाट प्रतिनिधित्व गर्छिन् । जुन क्षेत्र क्वीन्सको ग्लेनडेल, ओजन पार्क, रिचमण्ड हिल, रिजउड, उडह्याभन लगायत पर्छन् ।

रिज्योलुशन स्पोन्सरकर्ता राज्य सांसद जेनिफर राजकुमार

राज्य संसदमा यो प्रस्तावको को स्पोन्सर राज्य सांसद जेफ्रियन ओब्रीले गरेका थिए । उनले न्युयोर्क राज्य संसदमा नेपालीहरुको समेत बाक्लो बसोबास रहेको क्षेत्र डिस्ट्रिक्ट ३५ को एल्महस्र्ट, ज्याक्सनहाइट, कोरोना, लेफ्राकसिटी, उडसाइडको लगायतको क्षेत्रको प्रतिनिधित्व गर्छन् ।

प्रस्तावको को स्पोन्सर राज्य सांसद जेफ्रियन ओब्री

गभर्नर एन्ड्रयु कुमोबाट मे २९ लाई न्युयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज दिवसका रुपमा घोषणा नामको उक्त रिज्योलुशनमा नेपाल डेको उपलक्ष्यमा न्युयोर्क राज्यको नेपाली अमेरिकन समुदायलाई खुशी र गर्वका साथ सम्मान गर्नु संसदीय निकायको प्रचलन रहेको उल्लेख गरिएको छ । त्यसैले मे २९ लाई न्युयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज डे का रुपमा घोषणा गर्नु न्युयोर्क राज्यको संसदीय निकायका लागि पनि गर्वको कुरा भएको उल्लेख छ ।

मे २९ मा नेपालमा २४० बर्ष पुरानो राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा भएको दिन भएको र नेपाली पात्रो अनुशार यो दिन जेष्ठ १५ मा पर्ने समेत रिज्योलुशनमा उल्लेख छ । सन् २००६ मा १० बर्षलामो गृहयुद्धको समाप्ती र सन् २०१५ मा विनाशकारी महाभूकम्पहुँदै नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेको विषयलाई पनि रिज्योलुशनमा समेटिएको छ ।

न्युयोर्क राज्य संसदको वेवसाइटमा प्रकाशित रिज्योलुशन पढ्न यहाँ क्लीक गर्नुहोला ।

न्युयोर्क सिटी न्युयोर्क राज्यमा रहेका ६७ प्रतिशत नेपालीहरुको घर रहेको र त्यसमा पनि ८७ प्रतिशत न्युयोर्कबासी नेपालीहरु क्वीन्समा बस्ने रिज्योलुशनमा उल्लेख छ । मे २९ सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा सगरमाथा आरोहण गरेको बार्षिकी समेत रहेको उल्लेख गर्दै रिज्योलुशनमा भनिएको छ – ‘नेपाल सुन्दर हिमालका लागि परिचित रहेको छ भने सगरमाथाको महान विश्वब्यापी महत्व छ ।’

न्युयोर्क राज्यको संसद

रिज्योलुशन पारित भएपछि यसको प्रति गभर्नर एन्ड्रयु कुमो, न्युयोर्कमा रहेको नेपाली महाबाणिज्यदूतावास र न्युयोर्कमा रहेका नेपाली आधारित परोपकारी र विभिन्न संघसंस्थाहरुलाई प्रदान गर्ने रिज्योलुशनमा उल्लेख गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com