काठमाडौंमा जेठ २० सम्म निषेधाज्ञा थप, के गर्न पाइने, के नपाइने?


प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार

काठमाडौंमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म थपिएको छ। काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोभिड महामारीको संक्रमण तीव्र रुपमा बढिरहेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि जारी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नयाँ आदेशअनुसार औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनुपर्दाबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने भएका छन्। मर्निङ वाक र इभिनिङ वाकसमेत बन्द गरिएको छ।

यस्तै, विवाह, व्रतबन्धका हकमा बढीमा ७ जनासम्म भेला हुन पाइने भएको छ भने यस्ता कार्यक्रम होटल तथा पार्टी प्यालेसमा गर्न पाइनेछैन । ती कार्यक्रमका लागि एउटा सवारीसाधन प्रयोगगर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्न पाइनेछ।

पुजारीबाट हुने नित्यपुजाबाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सन्चालन गर्न पाइनेछैन। यस्तै, तरकारी, फलफुल, दुध, डेरी, मासु, खानेपानी र ग्यास पसलहरु बिहान ९ बजेसम्ममात्र खोल्न पाइनेछ ।

पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतको व्यवस्था मिलाइने काठमाडौं प्रशासनले जनाएको छ। यस्तै, जेठ १४ गते बिहान १ बजेदेखि २० गते राति १२ बजेसम्म काठमाडौं जिल्लाभर सार्वजनिक एवं निजी सवारीसाधनमा रोक लगाइएको छ।

यी आदेशको अवज्ञा गरेमा जेठ १० गते जारी सूचनाअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ। उक्त सूचनामा कोभिड १९ संकट व्यवस्थापन अध्यादेशअनुसार १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ। अध्यादेशबमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com