सोमबारदेखि न्युयोर्क सिटीमा मध्यरातपछि पनि आउटडोर रेष्टुरेण्ट, बुधबारदेखि शतप्रतिशत खुल्ने
प्रकाशित मिति : जेष्ठ २, २०७८ आईतबार
सोमबारदेखि न्युयोर्कमा आउटडोर डाइनिङको निषेध फुकुवा हुने भएको छ । कोरोना महामारीका कारण न्युयोर्कका रेष्टुरेण्टहरुमा आउटडोर डाइनिङ मध्यरातपछि संचालन गर्न नपाइनेगरी कर्फयु जारी गरिएको थियो ।
सोमबार विहान २ बजेदेखि लागु हुनेगरी न्युयोर्क सिटीको ट्रेन चौबसै घण्टा संचालन हुने भएको छ । कोरोना महामारीका कारण न्युयोर्कको ट्रेनमा चढ्नेहरुमा ९० प्रतिशत गिरावट आएको थियो भने रातीमा ट्रेनहरु सफा गर्नका लागि ट्रेन संचालन बन्द गरिएको थियो ।
न्युयोर्कको ट्रेनमा गतमहिना एकैदिनमा २० लाखभन्दा धेरैले यात्रा गरेका थिए । महामारी सुरु हुनुभन्दा अगाडि एकैदिनमा ५० लाखभन्दा धेरैले ट्रेनमा यात्रा गरेको रेकर्ड रहेको थियो । अझै पनि न्युयोर्कबासीहरु ट्रेन चढ्न हिचकिचाइरहेका छन् । अण्डरग्राउण्ड ट्रेन चढ्दा अहिले पनि मास्क भने अनिवार्य गरिएको छ ।

त्यस्तै बुधबारदेखि न्युयोर्क सिटीका रेष्टुरेण्टहरुमा इन्डोर डाइनिङ शतप्रतिशत क्षमतामा खुल्ने भएका छन् । त्यसपछिको दुईसातापछि इन्डोर डाइनिङ मध्यरातपछि संचालन गर्न नपाइने गरी लगाइएको निषेध पनि हटाइने भएको छ ।

न्युयोर्क सिटी गतबर्षको मार्चदेखि कोरोनाको महामारीको मारमा परेको हो । त्यसपछि न्युयोर्कका रेष्टुरेण्टहरुले झण्डै १४ महिनासम्म निकै कष्टपूर्ण समयको सामना गर्नुपरेको थियो ।





