नीरा टण्डन ह्वाइट हाउसमा बरिष्ठ सल्लाहकार नियुक्त
प्रकाशित मिति : जेष्ठ १, २०७८ शनिबार
अन्ततः नीरा टण्डनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् । उनले सोमबारदेखि बरिष्ठ सल्लाहकारका रुपमा कार्यभार सम्हाल्ने ह्वाइटहाउसले जनाएको छ ।
बाइडेनले टण्डनलाई म्यानेजमेन्ट र बजेट अफिस निर्देशकमा नियुक्ती प्रस्ताव गरेपनि सिनेटले पारित गरेको थिएन । उनका केही पूराना व्यक्तिगत ट्वीटहरुका कारण उनी विवादमा आएकी थिइन् । त्यसको उनको नियुक्ती फिर्ता लिइएको थियो । मुख्य आर्थिक नीति र संचारका पदहरुमा बाइडेनले महिलाहरुलाई प्राथमिकता दिएपनि सिनेटले टण्डनको नियुक्ती अनुमोदन नगरेपछि बाइडेनले सल्लाहकारमा नियुक्त गरेका हुन् ।

टण्डनले ओबामा प्रशासनमा पनि हेल्थ केयर सल्लाहकारका रुपमा काम गरेकी थिइन् सेन्टर फर अमेरिकन प्रोग्रेसकी प्रमुख कार्यकारी टण्डन डेमोक्रेटिक पार्टीमा बरिष्ठ नीति सल्लाहकारका रुपमा परिचित छिन् । सेन्टर फर अमेरिकन प्रोग्रेसपनि बाम झुकाव भएको केन्द्रका रुपमा परिचित रहेको छ ।
ह्वाइट हाउसमा सल्लाहकारका रुपमा उनले विभिन्न प्रकारका कामहरु गर्ने भएपनि तत्कालका लागि अफोर्डेबेल केयर एक्टबिरुद्ध सर्वोच्च अदालतमा पर्नसक्ने सम्भावित मुद्दामामिलाको विषयमा केन्द्रीत गर्ने जनाइएको छ । टण्डनले सरकारलाई अनलाइनमैत्री बनाउने डिजिटल सर्भिसको समेत पुनरावलोकन गर्ने जनाइएको छ ।

टण्डन भारतीय मुलकी हुन् । उनका बाबुआमा भारतबाट अमेरिका बसाई सराई गरेका थिए । उनी सन् १९७० मा अमेरिकाको मासाचुसेट्समा जन्मिएकी हुन् । उनका एकजना भाई राज टण्डन रहेका छन् ।
जब उनी ५ बर्षकी थिइन्, तब उनका बुबाआमाको डिभोर्स भएको थियो । डिभोर्सपछि उनकी आमा माया टण्डनले नीरा र राजलाई हुर्काउनका लागि वेलफेयरको सहायता लिनु परेको थियो । फुडस्ट्याम्प र आवासीय सुविधा समेत लिएर आमाले निरा र उनका भाईलाई हुर्काइन् ।
नीराले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट आर्टसमा ब्याचलर गरेकी थिइन् भने यल युनिभर्सिटीबाट जुरिस डाक्टर गरेकी थिइन् । त्यसपछि वासिंटनमा डिसीमा क्यापिटल हिलमा उनले घरेलु नीतिबारे काम गरिन् । उनी डेमोक्रेटिक पार्टीभित्रकी प्रगतिशिल व्यक्तित्वका रुपमा चिनिन्छिन् ।





