महामारीबिरुद्ध अमेरिकी माइलस्टोन: भ्याक्सिन लगाएकाहरुले मास्क लगाउनु नपर्ने


प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुले अमेरिकामा मास्क लगाउनु नपर्ने निर्देशिका जारी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई अमेरिकाका लागि महान दिन भएको बताएका छन् ।

सीडीसीको नयाँ निर्देशिकालाई संक्षेपमा ब्यावाख्या गर्दै बाइडेनले पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले मास्क लगाउनु नपर्ने बताए । सीडीसीले नयाँ निर्देशिका जारी गरेपछि ह्वाइट हाउसको रोज गार्डेनमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बाइडेन र उनका कर्मचारीहरु विना मास्क उपस्थीत भएका थिए ।

सीडीसीको नयाँ निर्देशिकामा बस, विमान, अस्पताल, जेल, होमलेस सेल्टर जस्ता इन्डोर सेटिङमा भने मास्क लगाउनुपर्ने उल्लेख छ । तर कार्यस्थल, स्कुल र विभिन्न स्थानहरु खुला गर्नका लागि नयाँ निर्देशिकाले बाटो खोलिदिएको छ । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले सामाजिक दुरी कायम गर्न पनि आवश्यक नभएको निर्देशिकामा उल्लेख छ ।

अमेरिकामा तीब्र रुपमा भ्याक्सिन अभियान संचालन गरिएकोमा यो अवस्था आउन सम्भव भएको हो । कोरोना संक्रमणदर गतबर्षको सेप्टेम्बरदेखिकै सबैभन्दा कम रहेको छ । कोरोनाबाट मृत्युदर पनि गतबर्षको अप्रिलयताकै सबैभन्दा कम बिन्दुमा रहेको छ ।

पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले आउटडोर वा इन्डोर गतिविधिमा मास्क विना नै सहभागी हुनसक्ने सीडीसी निर्देशक रोशेल वालेन्सीको भनाई छ । उनका अनुशार पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले महामारीका कारण जे जे काम गर्न रोकेका थिए, अब ती कामहरु गर्न सक्नेछन् ।

पूर्णरुपमा भ्याक्सिन लगाएको भन्नाले फाइजर र मोडेर्नाको दोश्रो डोज लगाएको २ साता पूरा भइसकेको बुझ्नुपर्छ । त्यस्तै जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको दुईसातापछि पनि पूर्णरुपमा भ्याक्सिन लगाएको बुझिन्छ ।

अमेरिकामा अहिलेसम्म १५४ मिलियन भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु ११८ मिलियनभन्दा धेरै छन् । अमेरिकामा १८ बर्षमाथिको जनसंख्याको ५९ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com