क्यालिफोर्नियामा ७५ हजारभन्दा कम आम्दानी हुनेलाई राज्यबाटै ६ सयको राहत चेक पठाउने तयारी
प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार
अमेरिकामा संघीय सरकारबाट अर्को चरणको राहत चेक आउने सम्भावना अब कम छ । तर क्यालिफोर्नियामा ७५ हजारभन्दा कम आम्दानी हुनेलाई राज्यबाटै ६ सयको राहत चेक पठाउने तयारी भइरहेको छ ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसोमले क्यालिफोर्निया निवासीहरुलाई ६ सय डलरको राहत चेक उपलब्ध गराउने प्रस्ताव ल्याएका छन् । कोरोना महामामारीको सामना गरेका आफ्नो राज्यका निवासीहरुलाई ८ बिलियन डलर नगद प्रदान गर्ने योजना अनुरुप यो प्रस्ताव ल्याइएको हो ।
क्यालिफोर्नियाका गभर्नरले १ सय बिलियनको रिकभरी योजना अगाडि सारेका छन् । उनको योजनामा ६ सयको डलरको राहतचेकमात्र नभई भाडा सहायता कार्यक्रम बढाउन ५ बिलियन डलर र युटिलिटी बिल तिर्न नसकेकाहरुका लागि २ बिलियन डलर समेत छुट्याइएको छ ।

गभर्नरले सुरुमा प्रस्ताव गरेको ६ सय डलरको राहत चेक ९ दशमलव ६ बिलियन डलरको राहत प्याकेजको भाग थियो । जसमा संघीय सरकारले पाउने राहत चेक नपाएका कम आम्दानी भएका क्यालिफोर्निया निवासीहरुलाई राहत चेक दिने उल्लेख थियो । उक्त प्याकेज अन्तरगत क्यालिफोर्नियाका ५७ लाखलाई राहत चेक दिइएको थियो ।
गभर्नरले अहिले प्रस्ताव गरेको राहत चेक क्यालिफोर्नियाका दुईतिहाई बासिन्दाले प्राप्त गर्नेछन् । राज्यको संसदबाट पारित हुन आवश्यक रहेको यो प्रस्ताव पारित भएमा ७५ हजारभन्दा कम आम्दानी भएका परिवारले राहत चेक प्राप्त गर्नेछन् । बालबालिकाहरु रहेका परिवारले अतिरिक्त ५ सय डलर समेत पाउनेछन् ।





