न्युयोर्क सिटीभित्रका स्ट्रीटमा घटाइयो स्पीड लिमिट, अधिकांश स्थानमा प्रतिघण्टा २५ माइल
प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार
न्युयोर्क सिटीभित्रका कैयन सडकहरुमा अब गाडी चलाउन पाइने गति कम गरिएको छ । न्युयोर्क सिटीका व्यस्त सडकहरुमा अब ५ देखि १० माइल प्रतिघण्टासम्म गति कम गरिएको सिटी अधिकारीहरुले बताएका छन् । विगतमा प्रतिघण्टा ३० माइलको गतिमा गाडी चलाउन पाइने अधिकांश सडकमा अब प्रतिघण्टा २५ माइलसम्मको गतिमा गाडी चलाउन पाइनेछ भने विगतमा प्रतिघण्टा ३५ माइलको गतिमा गाडी चलाउन पाइने केही सडकमा अब प्रतिघण्टा ३० माइलसम्मको गतिमा गाडी चलाउन पाइनेछ ।
लापरवाह चालकहरुलाई कारवाहीको बृहत योजनाको भागका रुपमा गतिको सिमितता घटाइएको हो । यो नियम ब्रोंक्सको पेल्हम पार्कवे र क्वीन्सको कन्डुइट एभिन्युमा पनि लागु हुनेछ । सिटीभित्र प्रतिघण्टा २५ माइलसम्ममात्र गति सिमित गर्नुपर्ने सन् २०१४ को मेयर बिल डे ब्लाजिओको योजनामा ती क्षेत्रहरुलाई छुट दिइएको थियो ।
कुन कुन स्ट्रीटमा कति गतिमा गाडी चलाउन पाइन्छ ? थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।
यातायात कमिश्नर हंक गटम्यानले गति सिमित परिवर्तन गर्दा जीवनहरु बच्ने अपेक्षा गरेका छन् । २५ माइल प्रतिघण्टाको गतिमा रहेको गाडीले ठक्कर दिंदाभन्दा ३० माइल प्रतिघण्टाको गतिमा रहेको गाडीले ठक्कर दिंदा ज्यान जाने सम्भावना दोब्बर हुने उनले बताए । यो सानो परिवर्तनले न्युयोर्कबासीको सुरक्षामा महत्वपूर्ण प्रभाव पार्ने उनको अपेक्षा छ ।

गाडी दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्यामा बृद्धि भएको अवस्थामा नयाँ नियमको घोषणा गरिएको हो । सन् २०२१ को मे ६ सम्म सडकमा भएका दुर्घटनामा न्युयोर्क सिटीमा ७२ जनाको ज्यान गएको छ । जबकी सन् २०२० भरमा ५६ जनाको ज्यान गएको थियो ।
सन् २०२१ को सुरुका तीनमहिनामा ट्राफिक नियम उल्लंघनका १ लाख ४३ हजार ९ सय ७८ टिकट जारी गरिएको छ । सन् २०२० भरमा ५ लाख १० हजार ३ सय ४३ टिकट जारी गरिएको थियो जुन सन् २०१९ को तुलनामा ४८ प्रतिशतले कम हो । महामारीपछि ट्राफिक नियम उल्लंघनका टिकट कम जारी गरिएको छ ।
ट्राफिक प्रहरीहरु उपस्थीत नहुने क्षेत्रमा क्यामेराहरु राखिएका छन् । न्युयोर्कसिटीभित्र ७५० वटा विभिन्न स्कुलहरु नजिक झण्डै १४ सयवटा स्पीड क्यामेराहरु राखिएको छ । ती क्यामेराहरुले सप्ताहन्तबाहेकका दिनमा विहान ६ बजेदेखि बेलुका १० बजेसम्म बढी स्पीड कुदाउनेहरुलाई ५० डलरको टिकट अटोमेटिक रुपमा जारी गर्छन् ।





