उबर र लिफ्टले भ्याक्सिन केन्द्रसम्म निशुल्क लैजान ह्वाइटहाउससँग सहकार्य
प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार
अब उबर र लिफ्टले अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन चाहनेहरुलाई भ्याक्सिन वितरण केन्द्रसम्म निशुल्क लैजाने भएको छ । ह्वाइटहाउससँगको सहकार्यमा जुलाई ४ सम्म यो सुविधा उपलब्ध हुने बाइडेन प्रशासनले घोषणा गरेको छ ।
आगामी दुईसाताभित्र यो पहलको सुरुवात हुने भएको छ । अमेरिकाको स्वतन्त्रता दिवससम्म ७० प्रतिशतलाई भ्याक्सिन लगाउने योजनालाई पूरा गर्न यो कार्यक्रमले सहायता गर्ने अपेक्षा गरिएको छ ।

उबर र लिफ्टले यस अगाडि नै भ्याक्सिन वितरण केन्द्रसम्म लैजानका लागि अन्य विजनेशसँग सहकार्य गरेपनि यो घोषणा भने सरकारसँगको औपचारिक सहकार्य हो । लिफ्टले भ्याक्सिन वितरणकेन्द्रसम्म जानका लागि मे २४ सम्म एप्लीकेशन वा वेवसाइटमा राइड कोड उपलब्ध हुने जनाएको छ ।
ह्वाइटहाउसले राइड पूर्णरुपमा निशुल्क हुने बताएपनि लिफ्टले भने आउँदा र जाँदाको पन्ध्र पन्ध्र डलर कभर हुने जनाएको छ । अमेरिकामा अहिलेसम्म कुल जनसंख्याको ४६ प्रतिशतभन्दा बढीले भ्याक्सिन लगाइसकेका छन् भने बिहिबारदेखि १२ बर्षमाथिकालाई समेत भ्याक्सिन वितरण गरिदैछ ।





