न्युयोर्क सिटीमा आउने पर्यटकलाई यसै सप्ताहन्तबाट निशुल्क भ्याक्सिन दिने योजना


प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार

न्युयोर्क सिटी भ्रमण गर्ने पर्यटकहरुलाई समेत जोन्सन एण्ड जोन्सनको कोरानाबिरुद्धको भ्याक्सिन निशुल्क प्रदान गर्ने योजना न्युयोर्क सिटीले अगाडि सारेको छ । न्युयोर्क सिटीका महत्वपूर्ण स्थलहरुमा कोरोनाबिरुद्धको भ्याक्सिन पर्यटकहरुलाई समेत प्रदान गर्ने योजना रहेको मेयर बिल डे ब्लाजिओले बिहिबार बताएका छन् ।

आफूहरु अतिरिक्त माइल अगाडि बढ्न चाहेको तथा पर्यटकलाई सहज बनाउनका लागि यो योजना अगाडि ल्याइएको मेयर ब्लाजिओको भनाई छ । यो योजना अन्तरगत पर्यटकहरुको बाक्लो उपस्थीति हुने क्षेत्रमा मोबाइल भ्याक्सिन वितरण केन्द्रहरु बनाइनेछ ।

न्युयोर्क सिटीले टाइम्स स्क्वायर, बु्रकलिन ब्रिज पार्क, सेन्ट्रल पार्क, हाइलेन लगायतका स्थानमा पर्यटकका लागि भ्याक्सिन वितरण केन्द्र राख्ने आशा गरेको उनको भनाई छ । तर यो योजनालाई राज्यले स्वीकृति प्रदान गर्नुपर्नेछ । न्युयोर्क सिटीबाहिरकाहरुलाई पनि भ्याक्सिन प्रदान गर्नसकिने योजना खुला गरेपनि पर्यटकका लागि पनि भ्याक्सिन प्रदान गरिनेछ ।

मेयर ब्लाजिओले सार्वजनिक रुपमा नै राज्यबाट पर्यटकलाई भ्याक्सिनको अनुमतिका लागि आग्रह गरेका छन् । र यसै सप्ताहन्तबाट न्युयोर्क सिटीले पर्यटकका लागि समेत भ्याक्सिन प्रदान गर्न सुरु गर्नसक्ने उनको भनाई छ ।

यसबाट न्युयोर्क आउने पर्यटकहरुमा न्युयोर्क सुरक्षित भएको र आउने पर्यटकको सिटीले हेरविचार गर्ने सकारात्मक सन्देश जाने तथा न्युयोर्क सिटी रहनका लागि एकदमै राम्रो स्थल भएको सन्देश जाने मेयरको अपेक्षा रहेको छ । कोरोनाको महामारीका कारण न्युयोर्क सिटीको पर्यटनमा नकारात्मक असर परेको छ ।

सन् २०१९ मा ६६ मिलियन आन्तरिक पर्यटकहरुले न्युयोर्कसिटीको भ्रमण गरेका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण २२ मिलियन आन्तरिक पर्यटकहरुलेमात्र न्युयोर्क सिटीको भ्रमण गरे । ३० मिलियन डलरको प्रचार अभियानले यो बर्ष न्युयोर्कमा ३६ मिलियन पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com