साना विजनेशलाई दिइने पेचेक प्रोटेक्सन प्रोग्रामको रकम डेडलाइन अगाडि नै समाप्त
प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार
अमेरिकामा कोरोनाको महामारीका कारण संघर्ष गरिरहेका साना विजनेशलाई कर्मचारीलाई तलब खुवाउने मुख्य उद्देश्यले दिइदै आएको पेचेक प्रोटेक्सन प्रोग्रामको रकम डेडलाइन अगाडि नै समाप्त भएको छ । यो कार्यक्रम अन्तरगत ऋण लिएपछि तोकिएको शीर्षकमा खर्च गरेको खण्डमा उक्त ऋण सरकारलाई फिर्ता गर्नु नपर्ने प्रावधान रहेको छ ।
यो कार्यक्रमका लागि आवेदन दिने डेडलाइन मे ३१ सम्म रहेपनि उक्त डेडलाइन अगाडि नै रकम समाप्त भएपछि एसबीएले नयाँ आवेदन स्वीकार गर्न रोकेको छ । पछिल्लो राहत प्याकेजमा संसदले यो कार्यक्रमका लागि २९२ बिलियन डलर छुट्याएको थियो । एसबीएले मंगलबार वक्तब्य निकालेर उक्त रकम समाप्त भएको जनाएको छ ।
सरकारी तथ्यांक अनुशार अहिलेसम्म ७८० बिलियन डलर माफ हुने पीपीपी ऋण प्रदान गरिसकिएको छ । झण्डै १ करोड ७ लाख आवेदकहरुले यो रकम प्राप्त गरेका छन् । अहिले ऋण प्रदायकहरुले एसबीएबाट ऋण प्रदान गर्न नसकिने सुचना प्राप्त गरिरहेको जनाइएको छ ।
पेचेक प्रोटेक्सन प्रोग्रामको आवेदन अवधि थप थप गरेर मे ३१ सम्म बनाइएपनि यो कार्यक्रम अन्तरगतको अधिकांश रकम वितरण भइसकेको भन्दै आवेदनका लागि ढिलो नगर्न सुझाव दिइएको थियो । निश्चित मापदण्ड पूरा गरेकाहरुले दोश्रो चरणको पीपीपी ऋणका लागि समेत आवेदन दिएका थिए भने पहिलोपटक आवेदन दिनेहरुका लागि पनि नियमहरु केही खुकुलो बनाइएको थियो ।

अल्पसंख्यक र साना विजनेशलाई सघाउन अमेरिकी राष्ट्रपति बाइडेनले पेचेक प्रोटेक्सन प्रोग्राम पीपीपी ऋणको प्रावधानमा परिमार्जन गरेका थिए । पूरानो नियमले सेल्फ इम्प्लोयडदेखि साना विजनेशहरुमारमा परेको र कतिपय विजनेशले जम्मा १ डलरसम्ममात्र ऋण प्राप्त गर्ने अवस्था आएकोमा बाइडेनले उक्त प्रावधानमा परिमार्जन गरेर सहज बनाएका थिए ।
नयाँ नियम अनुशार स्वतन्त्र ठेकेदार वा स्वरोजगारहरुले ट्याक्स फर्मको स्केजुअल सीमा रहेको कुल आम्दानी लाइनको प्रयोग गरेर ऋण लिन सक्ने बनाइएको थियो । अगाडिको प्रावधान अनुशार कुल आम्दानीमा ट्याक्स र खर्चहरु कटाएर बचेको रकमलाई आधार मानेरमात्र पीपीपी ऋण प्राप्त गर्न सकिने प्रावधान रहेको थियो ।
एसबीएले न्यून आय भएका समुदायका लागि सहयोग गर्न अलग्गै १ बिलियन डलर समेत छुट्याएको थियो । त्यस्तै गैरनागरिकहरु पनि पीपीपी ऋण लिनका लागि योग्य बनाइएको थियो । अमेरिकाका कानूनी रुपमा बसेका र ट्याक्स तिरेकाहरु यो ऋणका लागि योग्य भएका थिए ।
त्यस्तै कुनै कर्मचारी नभएका विजनेशहरुले समेत पीपीपी ऋण प्राप्त गर्न सक्ने बनाइएको थियो । संघीय विद्यार्थी ऋण नतरिकाले लगायतलाई पीपीपी ऋण नदिने लगायतका प्रावधानहरु पनि खारेज गरिएको थियो ।
पीपीपी ऋण तोकिएको मापदण्डभन्दा बाहिर रहेर खर्च गरेमा मिनाहा नहुने र ब्याजसहित फिर्ता गर्नुपर्ने प्रावधान छ । पीपीपी ऋण मिनाहाका लागि आवेदकले तोकिएको समयभित्रै ऋण मिनाहाका लागि छुट्टै आवेदन दिनुपर्छ ।





