राष्ट्रपतिमा बाइडेनका सयदिन: पूर्व राष्ट्रपति कार्टरलाई भेटेपछि जर्जियामा कार र्‍यालीलाई सम्बोधन


प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेको एकसयदिनको अवशरमा बिहिबार बेलुका जर्जियामा आयोजित कार र्‍यालीलाई सम्बोधन गरेका छन् । बाइडेनले संसदको संयुक्त सेसनमा पहिलो सम्बोधन गर्दै महत्वाकांक्षी एजेण्डा अगाडि सारेको भोलिपल्ट यो र्‍यालीको आयोजना गरिएको हो ।

बिहिबार कार र्‍यालीलाई सम्बोधन गर्दै बाइडेनले आफूले एकसयदिनमा गरेका उपलब्धीहरुको चर्चा गर्नुका साथै परिवार, बालबालिकाका क्षेत्रमा गरिने खर्च र भौतिक संरचना लगायतका क्षेत्रमा आफूले भविश्यमा गर्न चाहेको विषयबारे बोलेका थिए । उनले जर्जियाबाट इतिहास कायम गर्दै जीतेका दुईजना सिनेटरहरु राफल वार्नक र जोन ओसोफको प्रशंसा समेत गरे । उनीहरुकै कारणले सिनेटमा डेमोक्रेटिक नियन्त्रण कायम हुँदा बाइडेनको कोरोना राहत प्याकेज पारित गर्न सम्भव भएको थियो भने बाइडेनका अरु एजेण्डा पारित गर्नमा पनि सहज हुनेछ ।

आफू अमेरिकाको भविश्यबारे निकै आशावादी रहेको बाइडेनले बताए । आफूहरुले डरकोबिरुद्ध आशा, झुठकोबिरुद्ध सत्य र अन्धकारकोबिरुद्ध उज्यालो छानेको बाइडेनले बताए । अमेरिकी जागिर योजना र परिवार योजनाबारेको एजेण्डाको प्रवद्र्धनका लागि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको जर्जिया भ्रमणलाई पहिलो कदमका रुपमा हेरिएको छ ।

झण्डै १ दशमलव ८ ट्रिलियनको अमेरिकन परिवार योजनामा बालबालिकाहरु र जवान अमेरिकनहरुको शिक्षामा लगानीको विषय समेटिएको छ । तीन र चारबर्षका बालबालिकाहरुको प्रिस्कुल निशुल्क बनाउने र जतिसुकै आम्दानी भएका सबै अमेरिकनहरुका लागि कम्युनिटी कलेज २ बर्षका लागि निशुल्क बनाउने विषय योजनामा समेटिएको छ । यसबारे बाइडेनले बुधबार राती संसदको सम्बोधनमा विस्तृत बताएका थिए ।

बाइडेन र प्रथम महिलाले बिहिबार ९६ बर्षका पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई जर्जियामा भेटेका थिए । भेटघाटमा पत्रकार उपस्थीत थिएनन् तर जिम्मी कार्टरकी पत्नीले ढोकासम्म आएर बाइडेनलाई विदाई गरेको दृश्य भने कैद गर्न सफल भएका थिए ।

बाइडेनले अहिलेसम्म पूरा नगरेका ५ अध्यागमन प्रतिबद्धता

अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेको एकसयदिन पूरा भएको छ । तर बाइडेनले राष्ट्रपतिको चुनावमा र निर्वाचित भइसकेपछि विभिन्न खाले अध्यागमनबारेका प्रतिबद्धताहरु जनाएका थिए, ती मध्ये ५ प्रतिबद्धता बाइडेनले अझै पूरा गरेका छैनन् ।

अन्तिम राष्ट्रपतीय बहसका क्रममा बाइडेनलाई बुबाआमासँग विछोडिएका ५४५ छोराछोरीहरुको पुनर्मिलनका लागि के गर्नुहुन्छ ? भनेर सोधिएको थियो । बाइडेनले त्यसका लागि टास्क फोर्स बनाउने प्रतिबद्धता जनाएका थिए । टास्क फोर्स गठन त गरिएको छ भने देशनिकाला गरिएका बाबुआमालाई उनीहरुका छोराछोरीसँग पुनर्मिलन गराउन फिर्ता ल्याउने भनिएको छ । तर अहिलेसम्म एकजनालाई पनि फिर्ता भने ल्याइएको छैन ।

चुनावी अभियानका क्रममा बाइडेनले बालबालिकाहरु आइसको हिराशतबाट बाबुआमासहित तुरुन्तै रिहा हुनुपर्ने बताएका थिए । बाइडेन प्रशासनले अमेरिकामा एसाइलम खोज्ने बुबाआमा र उनीहरुका छोराछोरीहरुसहित परिवारहरुलाई हिराशतमा राख्ने अभ्यास अन्त्य गर्ने बताएको थियो । तर आइसले भने परिवार राख्ने हिराशतहरु बन्द नगर्ने र परिवारलाई हिराशतमा राख्ने अभ्यास पनि बन्द नगर्ने बताएको छ ।

सिमानामा प्रकृया अगाडि बढाउने केन्द्रहरुमा सिमित क्षमताका कारण केही परिवारहरुलाई भने हिराशतमा नराखिकनै रिहा गरिएको छ । दक्षिण टेक्सासका दुईवटा हिराशतमा दैनिक ५ सयको हाराहारीमा बुबाआमा र उनीहरुका छोराछोरीहरुलाई राख्ने गरिएको छ । यद्यपी अदालतको आदेश अनुशार देशनिकालाको प्रतिक्षा गरिरहेकाहरुबाहेकका परिवारलाई २० दिनभन्दा धेरै हिराशतमा राख्न पाइदैन । २० दिनपछि अध्यागमन अदालतमा सुनुवाईको मिति कुर्नका लागि रिहा गर्नुपर्छ ।

बाइडेनले चालु आर्थिक बर्षका लागि शरणार्थीको संख्या बढाउने प्रतिबद्धता पनि पूरा गरेका छैनन् । उनले चालु आर्थिक बर्षका लागि शरणार्थीको संख्या १५ हजारमा सिमित गर्ने ट्रम्पकै नीतिलाई यथावत राख्ने घोषणा गरे लगत्तै भएको आलोचनापछि बाइडेनले यो संख्या बढाउने बताएका छन् । तर कति बनाउने भन्नेबारे अझै घोषणा गरेका छैनन् । आगामी आर्थिक बर्षका लागि भने अमेरिकाले स्वीकार्ने शरणार्थी संख्या बढाउने घोषणा गरिसकेका छन् ।

बाइडेनले कार्यभार सम्हाल्नेबित्तिकै सिमाक्षेत्रमा पर्खाल लगाउने र भूमि अधिग्रहणको कामलाई स्थगित गर्दै ६० दिन पुनरावलोनको घोषणा गरेका थिए । समिक्षामा संलग्न व्यक्तिलाई पर्खालका लागि छुट्याइएको पैसा कहाँ पुनः निर्देशित गर्न सकिन्छ भनेर निर्णय गर्न जिम्मा दिइयो।

तर ६० दिन सकिएको पनि ३० दिन भइसकेको छ । कुनै नतिजा भने आएको छैन । पर्खाल निर्माणको काम त स्थगित छ तर स्थायी रुपमा नै पर्खाल निर्माणको काम स्थगित नहुँदा गत साता अदालतले टेक्सासको हिडाल्गो काउन्टीको ६ एकड जमिन पर्खाल निर्माणका लागि सरकारलाई दिन सहमत भएको छ । डिपार्टमेन्ट अफ जस्टिसले समिक्षा अवधिभर प्रतिक्षा गर्न गरेको अनुरोधका बाबजुत अदालत पर्खाल निर्माणका लागि जमिन दिन सहमत भएको हो ।

परिवारलाई विछोड गराउनेबारे ट्रम्प प्रशासनलाई उत्तरदायी बनाउने सन्दर्भमा बाइडेनले गरेको वाचा पूरा गरेका छैनन् । चुनावी अभियानका बेला बाइडेनले परिवारहरु अलग गराउने ट्रम्प प्रशासनको अभ्यासलाई आपराधिक भनेका थिए । साथै यसबारे को उत्तरदायी छ र त्यस्तो उत्तरदायीत्व आपराधिक हो वा होइन भन्नेबारे गहिरो अनुसन्धान गरिने बताएका थिए । तर अहिलेसम्म त्यस्तो कुनै पुनरावलोकन सुरुवात गरिएको छैन । हालै डिपार्टमेन्ट अफ जस्टिसले झण्डै ३ हजार परिवारलाई अलग गराउने ट्रम्प प्रशासनको शुन्य सहनशीलता नीतिबारेका योजनाको विस्तृत कागजात सार्वजनिक गर्न रोकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com