न्युयोर्क सिटी जुलाई १ मा शतप्रतिशत खुल्ने


प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार

कुनै बेला कोरोना महामारीको इपिसेन्टर बनेको न्युयोर्क सिटी जुलाई १ बाट शतप्रतिशत खुल्ने भएको छ । कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने कार्य तीब्र गतिमा भइरहँदा मेयर बिल डे ब्लाजिओले जुलाई १ बाट न्युयोर्क सिटी पूर्णरुपमा खुल्ने घोषणा गरेका हुन् ।

‘हामी स्टोरहरु खोल्न तयार भएका छौं । हामी हाम्रा व्यवसायहरु, कार्यालयहरु, थियटरहरु पूर्णरुपमा खोल्न तयार भएका छौं ।’ – मेयर ब्लाजिओले घोषणा गरे ।

एकबर्ष भन्दा लामो समयपछि न्युयोर्क सिटी पूर्णरुपमा खुल्न लागेको पहिलोपटक हो । न्युयोर्क सिटीमा पहिलो शटडाउन सन् २०२० को मार्चमा सुरु भएको थियो ।

गतबर्षको मार्चको अन्तिमसातादेखि न्युयोर्क सिटी कोरोनाको इपिसेन्टर बनेको थियो । त्यो यता न्युयोर्क सिटीमा कोरोना महामारीबाट बुधबारसम्म ३२ हजार ४ सय ६१ जनाको ज्यान गएको छ भने ९ लाख २३ हजार ९ सय ५३ जनामा संक्रमण पुष्टी भएको छ । जुलाई १ बाट रेष्टुरेण्ट, जिम, पसलहरु, हेयर शैलुनहरु पूर्णरुपमा खुल्नेछन् भने साना थियटरहरु समरभरीमा खुल्नेछन् । ब्रोडवे पनि सेप्टेम्बरसम्म पूर्णरुपमा खुल्ने तयारीमा छन् ।

बुधबारसम्म न्युयोर्क सिटीमा ६० लाख भन्दा बढी डोज कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकिएको छ । न्युयोर्क सिटीको ३६ प्रतिशतभन्दा धेरै बयस्क जनसंख्याले कोरोनाबिरुद्धको खोप पूर्णरुपमा लगाइसकेको छ । आधाभन्दा धेरै बयस्क जनसंख्याले कम्तीमा एकडोज भ्याक्सिन लगाइसकेको छ ।

बुधबारमात्र गभर्नर एन्ड्रयु कुमोले मे महिनादेखि राज्यब्यापी रुपमा रेष्टुरेण्टहरुमा एकपटकमा बस्न मिल्ने ग्राहकका सन्दर्भमा लगाइएका प्रतिबन्धहरु र बारमा बस्न लगाइएका रोकहरु हटाइने घोषणा गरिसकेका छन् ।

मे ३ देखि न्युयोर्क सिटीहरुमा बारमा बस्न पाइने भएको छ । आउटडोर डाइनिङका सन्दर्भमा १२ बजेपछि खोल्न नपाइनेगरी लागु गरिएका निषेधहरु पनि मे १७ बाट हटाइनेछ । इन्डोर डाइनिङका सन्दर्भमा १२ बजेपछि खोल्न नपाइनेगरी लागु गरिएका निषेधहरु मे ३१ बाट हटाइने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com