अमेरिकी जनगणना: कुल जनसंख्या ३३१ मिलियन, ८९ जनाको कमीले न्युयोर्कले गुमायो संसदमा सिट
प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार
हरेक १० बर्षमा हुने अमेरिकी जनगणनाको नतिजा सार्वजनिक भएको छ । सेन्सन ब्यूरोका अनुशार अमेरिकाको कुल जनसंख्या ३३१ मिलियन गणना गरिएको छ । गतबर्ष अमेरिकामा जनगणना गरिएको थियो ।
जनगणनाको नतिजा अनुशार रिपब्लिकन पकड रहेको टेक्सासमा आगामी १० बर्षका लागि प्रतिनिधिसभाका दुई सिटहरु थपिएका छन् । त्यस्तै फ्लोरिडा, नर्थ क्यारोलिना, कोलोराडो, मोन्टाना र ओरेगनमा पनि प्रतिनिधिसभाका एकएक सिट थपिएका छन् ।
टेक्सास, फ्लोरिढा र नर्थ क्यारोलिनामा दुईपटककै राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका थिए । यी राज्यहरुले आगामी संसदीय चुनावमा प्रतिनिधिसभाका लागि थप ४ सिट पाउनेछन् ।

इलिनोय, मिसिगन, पेन्सिलभेनिया र न्युयोर्कले राष्ट्रपति चुनावमा बाइडेनलाई जिताएका थिए । तर यी राज्यहरुले आगामी चुनावमा संसदको प्रतिनिधिसभामा ४ सिट गुमाउने भएका छन् । रिपब्लिकनको बाहुल्य रहेको ओहायोले पनि एकसिट गुमाउनेछ ।
न्युयोर्कको जनगणनामा ८९ जना व्यक्तिको मात्रै सहभागिता कम भएकाले प्रतिनिधिसभामा एउटा सिट गुमाएको छ । उनीहरु जनगणनामा सहभागी भएको भए न्युयोर्कले कुनै सिट गुमाउनुपर्ने थिएन ।
क्यालिफोर्निया, इलिनोय, मिसिगन, न्युयोर्क, ओहायो, पेन्सिलभेनिया र वेष्ट भर्जिनियाले प्रतिनिधिसभामा एकएक सिट गुमाएका छन् । सन् २०२२ मा हुने निर्वाचन पछि यी राज्यहरुबाट अमेरिकी संसदको प्रतिनिधिसभामा प्रतिनिधित्वि हुने सिट संख्यामा फेरबदल हुनेछ ।
सन् २०१० को जनगणनामा अमेरिकाको जनसंख्या ३०८ दशमलव ७ मिलियन रहेकोमा सन् २०२० को जनगणनामा यो संख्या ७ दशमलव ३५ प्रतिशतलेमात्र बढेर ३३१ दशमलव ४ मिलियन भएको देखिएको हो । जसलाई सन् १९३० देखि १९४० को ग्रेट डिप्रेशनको दशक यताकै सबैभन्दा सुस्त गतिको जनसंख्या बृद्धि हो ।





