अमेरिकाले भारतमा भेन्टिलेरसहित कोरोना परीक्षण र उपचार सामाग्री पठाउँदै
प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार
भारतमा कोरोनाको महामारी अनियन्त्रित बनिरहँदा अमेरिकाले भारतमा कोरोना परीक्षण किट, भेन्टिलेटरसहित उपचार सामाग्रीहरु पठाउने भएको छ । अमेरिकाले आपतकालिन अवस्थामा अक्सिजन उत्पादन र सम्बन्धित सामाग्रीको आपूर्तिका लागि विकल्पहरु समेत खोजिरहेको ह्वाइट हाउसले जनाएको छ ।
महामारीको सुरुवातमा अमेरिकाका अस्पतालहरु तनावग्रस्त हुँदा भारतले सहायता पठाएजस्तै अमेरिका पनि भारतले संकटको यो घडीमा सहयोग गर्न दृढ रहेको ह्वाइटहाउसले जारी गरेको वक्तब्यमा जनाइएको छ । बाइडेन प्रशासनले भारतलाई सुरक्षात्मक पोशाक लगायतका सामाग्रीहरु पनि पठाउने तयारी गरिरहेको छ ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान र उनका भारतीय समकक्षी अजित डोभालबीच भएको फोनवार्ता लगत्तै अमेरिकाले सहयोगका लागि दृढतासहित वक्तव्य निकालेको हो । आगामी दिनमा सहयोगका लागि दुबै जना नजिकको सम्पर्कमा रहने समेत जनाइएको छ ।
भारतमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या दैनिक साढेतीनलाख सम्म पुगेको छ भने अहिलेसम्म साढे १६ मिलियनभन्दा धेरै संक्रमित भइसकेका छन् । भारतको स्वास्थ्य प्रणाली अनियन्त्रित भएको छ भने अक्सिजनको अभावमा कैयनले ज्यान गुमाइरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयहरुलाई शतर्कता अपनाउन र भ्याक्सिन लगाउन आव्हान गरेका छन् । तर हालैका दिनमा ठूला ठूला राजनीतिक कार्यक्रमहरु र धार्मिक जमघटहरुमा सहभागी प्रधानमन्त्री मोदीले महामारीको नियन्त्रणका सन्दर्भमा चर्को आलोचना समेत खेपिरहेका छन् ।
अमेरिकामा प्रयोगको स्वीकृति नपाएको तर भण्डारण गरिएको आष्ट्राजेनेका भ्याक्सिन भारत पठाएर भारतीय सरकारलाई सहयोग गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन अनिच्छुक देखिएकोमा पनि बाइडेनको प्रश्नको सामना गर्नुपरेको छ । अमेरिकामा थुपारिएको उक्त भ्याक्सिन भारतमा पठाएको खण्डमा भ्याक्सिनका लागि संघर्ष गरिरहेको भारतमा राहत हुनसक्ने अपेक्षा गरिएको छ ।
अमेरिकी च्याम्बर अफ कमर्शले आष्ट्राजेनेका भ्याक्सिनका लाखौं डोजहरु भारत लगायत महामारीको चर्को सामना गरिरहेका ब्राजिल लगायतका देशका लागि उपलब्ध गराउनका लागि आव्हान गरेको छ । बाइडेनका प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउचीले भ्याक्सिनबारे केही कदम चालिने बताएका छन् ।
ह्वाइट हाउसले भने अरु देशलाई भ्याक्सिन उत्पादनका लागि चाहिने कच्चापदार्थ अमेरिकाबाट आपूर्तिका लागि लगाइएको रोक हटाउने वा नहटाउने सन्दर्भमा कुनै प्रतिकृया दिएको छैन । बाइडेनका कोभिड १९ संयोजक जेफ जेइन्ट्सले आफूहरु भ्याक्सिनको आपूर्ति बाँड्नका लागि प्रतिबद्ध रहेको र त्यसका विकल्पहरु खोज्ने बताएका छन् ।





