कोरोना संक्रमितको संख्या दैनिक साढे ३ लाख पुग्दैगर्दा धनी भारतीयहरु निजी जेटमा विदेश भाग्दै
प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार
कोरोना संक्रमितको संख्या दैनिक साढे ३ लाख पुग्दैगर्दा भारतका धनीहरु निजी जेटमा विदेश भाग्दै गरेको खुलासा भएको छ । लगातार चौथो दिन पनि भारतमा कोरोना संक्रमणको उच्चदर कायम भइरहँदा धनी व्यक्तिहरु दशौं हजार डलरसम्म खर्च गरेर भारत छाडिरहेका छन् ।
आइतबारमात्र भारतमा कोरोना संक्रमणका झण्डै साढे ३ लाख नयाँ केसहरु पुष्टी भएका छन् भने भारत कोरोना महामारीको नयाँ इपिसेन्टर बनेको छ । मुलुकको स्वास्थ्य प्रणाली नै पूर्णरुपमा भरिभराउ भएको छ भने अक्सिजनको अभावमा संक्रमितहरुको ज्यान गइरहेको छ ।
यो अवस्थामा भारतीय धनीहरु भारतबाट नजिकको गन्तब्य युएईतिर लागिरहेका छन् । युएईमा दैनिक सयौं उडानहरु हुने गरेपनि अप्रिल २५ देखि भारतबाट १० दिनका लागि यात्रुहरुको प्रवेशमा रोक लगाइएकाले त्यस अगाडि नै भारत छाड्नेहरुको भींड बढेको हो ।

शनिबारका लागिमात्र दुबईका लागि १२ वटा उडानहरु चार्टड गरिएको र हरेक उडान पूर्णरुपमा भरिभराउ रहेको चार्टर कम्पनी एयर चार्टर इन्डियाका प्रवक्ताले जानकारी दिए । निजी जेट चार्टर गर्नेहरुको संख्या अविश्वसनीय रुपमा बढेको उनले बताए । त्यस्तै अर्को निजी जेट प्रदायक कम्पनी इथरल एभिएयसनले पनि विगत केहीदिनमा सयौं सोधीखोजीहरु आएको जानकारी दिएको छ ।
माग बढी भएकाले विदेशबाट समेत जेटहरु मगाइएको थियो । मुम्बईबाट दुबईका लागि १३ सिटको जेट भाडाका लैजानका लागि ३८ हजार डलर खर्च हुने र ६ सिटको जेट भाडामा लैजानका लागि ३१ हजार डलर खर्च हुने गरेको जनाइएको छ । भारतीयहरुले समुह बनाएर चार्टर गर्ने गरेको तथा केही मागहरु थाइल्याण्ड जानका लागि समेत रहेको जनाइएको छ । तर अधिकांशले भने दुबई जानका लागि चार्टर गरेका थिए ।
बेलायतले भारतबाट यात्रुमा रोक लगाउनु अगाडि २४ घण्टामा कम्तीमा ८ वटा निजी जेटहरु भारतबाट बेलायत उडेका थिए । ९ घण्टा लामो उक्त उडानका लागि औषतमा १ लाख ३८ हजार डलर खर्च लागेको जनाइएको छ ।





