अमेरिकामा भ्याक्सिन लगाउनेलाई वियरदेखि केकसम्म निशुल्क, यसरी प्राप्त गर्नुहोस्
प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार
अमेरिकामा अहिलेसम्म झण्डै १४ करोडले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । भ्याक्सिन लगाएकाहरुलाई विभिन्न कम्पनीहरुले निशुल्क उत्पादनहरु अफर गरिरहेका छन् । भ्याक्सिन लगाएको प्रमाण पेश गर्नेहरुलाई वियरदेखि केकसम्म निशुल्क अफर गरिएको छ ।
बडवाइजर वियरले भ्याक्सिन लगाएको प्रमाण पेश गर्नेलाई एउटा वियर निशुल्क अफर गरेको छ । कम्पनीको माइकुलर डटकममा गएर रजिष्टर गरिसकेपछि एउटा बियर निशुल्क प्राप्त गर्न सकिनेछ । यो अफर मे १५ सम्म रहेको छ ।

त्यस्तै मेमोरियल डेसम्मका लागि जुनियर्स चिजकेकले भ्याक्सिन लगाएकाहरुका लागि निशुल्क मिनि चिजकेक अफर गरेको छ । न्युयोर्क सिटीमा रहेको फ्ल्याटबस एभिन्यु, डिकाल्ब र डाउनटाउन ब्रुकलिनमा रहेका जुनियर्सका रेष्टुरेण्टहरुमा भ्याक्सिन लगाएको कार्डदेखाएर निशुल्क चिजकेक प्राप्त गर्न सकिनेछ ।

अमेरिकामा रहेका क्रिप्सी क्रेमका लोकेशनहरुबाट भ्याक्सिन लगाएको कार्ड देखाएर हरेक दिन एउटा डोनट निशुल्क प्राप्त गर्न सकिने भएको छ । डोनट प्राप्त गर्नका लागि कोरोनाबिरुद्धको भ्याक्सिनको एउटा वा दुईवटा शट लगाएको प्रमाणसहितको कार्ड देखाउनुपर्नेछ । निशुल्क डोनट प्राप्त गर्नका लागि स्टोरबाट अरु कुनै चिज किन्न आवश्यक हुनेछैन ।

न्युयोर्कको कोने आइल्याण्डमा रहेको नाथन हटडगमा भ्याक्सिन लगाएकाहरुले निशुल्क एउटा हटडग प्राप्त गर्नेछन् । तर त्यहाँबाट हटडग प्राप्त गर्न भने भ्याक्सिन लगाएकै दिनमा जानुपर्नेछ । यो अफर न्युयोर्क सिटीभित्र मात्र रहेको छ ।

स्टापल्स र अफिस डिपोहरुले भ्याक्सिन कार्डको निशुल्क लेमिनेशनको व्यवस्था गरेका छन् । भ्याक्सिन कार्ड सुरक्षित गर्नका लागि कुनै पनि स्टापल्स र अफिस डिपोको स्टोरमा गएर निशुल्क लेमिनेशन गर्न सकिनेछ । अमेरिकाका सबै स्टापल्स स्टोरमा यो सेवा उपलब्ध छ भने कहिलेसम्म यो सुविधा उपलब्ध हुने भन्नेबारे कुनै डेडलाइन तोकिएको छैन ।
त्यस्तै अप्रिल २२ देखि मे ३१ सम्म बर्गर चेन ह्वाइट क्यासल रेष्टुरेण्टले भ्याक्सिन लगाएकाहरुलाई निशुल्क डिजर्टको व्यवस्था गरेको छ । चारप्रकारका डिजर्टहरु भ्याक्सिन लगाएको प्रमाण देखाउनेहरुले निशुल्क पाउनेछन् । बटर केक, ब्राउनी, चीजकेक र बर्थडे केक लगायतका डिजर्टहरु उपलब्ध रहेको जनाइएको छ ।





