राइट दाजुभाइले पृथ्वीमा हेलिकप्टर उडाएको ११७ बर्षपछि मङ्गल ग्रहमा हेलिकप्टर उडान सफल
प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको सानो हेलिकपटर एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। यो एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान हो ।
यो हेलिकप्टर अझ लामोसमय र उचाइमा उडानको प्रयास गरिने जनाइएको छ । उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मङ्गल ग्रह पुर्याएको हो। पर्सिभिअरन्स रोभर गत फेब्रुअरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो।

विलबर र ओर्विल राइटले पहिलो पटक पृथ्वीमा सन् १९०३ को डिसेम्बर १७ मा नियन्त्रित र यन्त्रचालित विमान उडाएका थिए। मंगल ग्रहमा उडाइएको हेलिकप्टरले ११७ वर्षअघि नर्थ क्यारोलाइनाको किटी हकमा ऐतिहासिक उडान गरेको उक्त विमान फ्लाएर १ को एउटा पङ्खाको सानो नमुना पनि बोकेको थियो।
मङ्गल ग्रहमा हेलिकप्टर करिब तीन मिटरमाथि उठेको, अडिएको, घुमेको र अवतरण गरेको थियो । उडेदेखि अवतरण गर्दासम्म त्यो सबै गर्दा करिब ४० सेकेन्ड लागेको छ।
रातो ग्रह भनिने मङ्गल ग्रहमा उडान सजिलो छैन। वायुमण्डल निकै पातलो छ। त्यहाँ पृथ्वीको वायुमण्डलको १ प्रतिशत घनत्व छ।





